नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।

बझाङको मष्टा गाउँपालिका वडा नम्बर–२ खिकालमा एक बालिका मृत फेला परेकी छन् । बुधबार बेलुका पशुचौपाया बाँध्न सिमछाना गएकी १२ वर्षीया बालिका सम्झना कामीको शव घरदेखि करिब २ किलोमिटर टाढा सिम मन्दिरमा फेला परेको हो ।
प्रहरीकाअनुसार मृतक बालिकाको शरीरमा निलडाम भएको र शव नग्न अवस्थामा भेटिएको हो । बालिकाको बलात्कारपछि हत्या भएको आशंकामा प्रहरीले एक जना प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा अन्दाजी १८ वर्षका राजेन्द्र बोहरा रहेको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले नवकान्तिपुरलाई जानकारी दिए ।
‘बलात्कारपछि हत्या भएको प्रारम्भिक अनुसन्धानका आधारमा निजलाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ र थप अनुसन्धान जारी छ’ भण्डारीले भने ‘बुधबार राति नै प्रहरीको टोली घटनास्थल गएको थियो । अहिले शवलाई पोष्टमार्टमका लागि सदरमुकाम ल्याइँदैछ ।’
