डा.गोविन्द केसीमाथि गरिएको अपमानजनक व्यवहार अक्षम्य छ : प्राध्यापक संघ

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति प्रकाशित गरी डा. गोविन्द केसीले पटक पटक उठाएका समसामयिक मागका सम्बन्धमा सरकारले बेवास्ता गरेकोले ती माग पूरा गर्न डा. केसीले उन्नाइसौं पटक सत्याग्रह गर्न बाध्य हुनु परेको उल्लेख गर्दै सामाजिक अभियन्ता डा. केसीमाथि गरिएको अपमानजनक व्यवहारप्रति दुःख व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका सेवा निवृत वरिष्ठ प्राध्यापक डा.गोविन्द केसीले गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँचको माग गर्दै उन्नाइसौं सत्याग्रह सुरू गर्नुभएकोे सर्वविदितै छ । उन्नाइसौं सत्याग्रहसम्म आइपुग्दा त्रिभुवन विश्वविद्यालय र विभिन्न दलहरुको नेतृत्वमा बनेको नेपाल सरकारसँंग पटक पटक धेरै सम्झौताहरू भएको तर कार्यान्वयन नहुँदा यो उन्नाइसौं पटकको सत्याग्रह वहाँले सुुरू गर्नुभएको हाम्रो बुझाइ रहेको छ ।’



संघका सभापति डा. वसन्त ढकाल तथा महासचिव केशवराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडि भनिएको छ– ‘यस उन्नाइसौं पटकको सत्याग्रहमा पनि वर्तमान सरकारले चासो नदेखाएको प्रति त्रिवि प्राध्यापक संघको ध्यानाकर्षण भएको छ । सत्याग्रही डा.गोविन्द केसीजस्ता सामाजिक अभियन्तामाथि वर्तमान लोकतान्त्रिक सरकारले गरेको अपमानजनक व्यवहार र बेवास्ता अकल्पनीय र अक्षम्य छ भन्ने हाम्रो ठहर छ । डा. केसीको जीवन रक्षाको जोडदार माग गर्दै वहाँले उठाएका मागहरू अविलम्व पुरा गर्न नेपाल सरकार समक्ष त्रिवि प्राध्यापक संघ आग्रह गर्दछ ।’

 

 

सम्बन्धित समाचार