नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ असाेज ।

आज पनि देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको मध्य प्रदेशको पुर्वी भू-भागमा न्यून चापीय क्षेत्र उत्तर-पुर्व सरेकाले नेपालमा पनि वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । महाशाखाले एक बुलेटिन जारी गर्दै दिउँसो देशभर सामान्यदेखि अधिकांश बदली रही केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
साथै आगामी २४ घण्टामा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।
