नयाँ मुख्यमन्त्रीमा सहमति खोज्दै ओली-प्रचण्ड, को-को बन्दैछन् मुख्यमन्त्री ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन र मुख्यमन्त्रीको हेरफेरको गृहकार्य सँगसँगै गरिरहेका छन् । हिजो बालुवाटारमा भएको भेटमा प्रचण्डले सबै मन्त्रीको राजीनामा गराउनमा जोड दिएका थिए भने ओलीले केही मन्त्रीलाई मात्र राजीनामा गराउनुपर्ने बताएका थिए । तर दुई अध्यक्षबीच सबै मन्त्रीको राजीनामा गराएर आवश्यकताको आधारमा केही मन्त्रीहरूलाई पुनः नियुक्ति गर्ने सहमति भएको स्रोतले बतायो ।

नयाँ मन्त्री छनौटको लागि मापदण्ड बनेकोले सोहीअनुसार अगाडि बढ्ने ओली प्रचण्डको तयारी छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहका नेतालाई पनि समावेश गरेर नयाँ मन्त्रीको लिष्ट तयार गर्ने ओली र प्रचण्डले तयारी गरेका छन् । आ–आफ्नो हिसाबले मन्त्रीको लिष्ट तयार गर्ने । दुबै लिष्टबाट सहमतिमा नयाँ मन्त्री फाइनल गरिने भएको छ ।



हिजोको भेटमा ओली र प्रचण्डबीच फेर्ने मुख्य मन्त्री र नियुक्ति दिने नयाँ मुख्यमन्त्रीको बारेमा पनि छलफल भएको बताइन्छ । नयाँ मुख्यमन्त्रीमा पनि नेकपामा भागवण्डा हुने भएको छ । यसअधि केपी ओली निकटका ४ नेताहरू मुख्यमन्त्री बनेका थिए । अब भने ओली र प्रचण्डले २-२ र नेपाल र खनालले १-१ जना मुख्यमन्त्री पाउने भएका छन् ।

ओलीनिकट २ मुख्यमन्त्री बागमति प्रदेशका डोरमणि पौडेल र प्रदेश १ का शेरधन राईको बिदाइ हुने पक्का छ । बागमतिमा नेपाल निकटकी अष्टलक्ष्मी शाक्य र प्रदेश १ मा खनालनिकटका भीम आचार्यले अवसर पाउने भएका छन् । त्यसैगरी पूर्व माओवादीको भागमा परेको कर्णली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पनि बिदाइ हुने स्रोतको दाबी छ । उनको ठाँउमा प्रकाश ज्वालाले अवसर पाउने भएका छन् ।

यता प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टलाई पनि बिदाइ गरिने बताइए पनि उनको ठाउँमा कसलाई ल्याउने भन्नेबारे अझै सहमति भैसकेको छैन । ओलीनिकटका २ मुख्यमन्त्री प्रदेश ५ का शंकर पोखरेल र गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङलाई भने निरन्तरता दिइने भएको छ ।

प्रदेश २ मा जसपाको सरकार रहेकोले त्यहाँको सरकार परिवर्तन नेकपाको हातमा छैन । जसपाले पनि लालबाबु रावतको विकल्प खोजिरहेकोले अन्य प्रदेशका मुख्यमन्त्री परिवर्तन भएकै मेसोमा प्रदेश २ को सरकार परिवर्तन गर्ने तयारीमा रहेको बुझिएको छ । फलतः दशैं अगाडि नै ५ प्रदेशले नयाँ मुख्यमन्त्री पाउने देखिएको छ ।

सम्बन्धित समाचार