प्रचण्ड–नेपाल समूह र जसपा सरकारमा; ओली समूह र कांग्रेस प्रतिपक्षमा

प्रचण्ड–नेपाल समूहको नेकपाको हिजो बसेको संसदीय दलको बैठकमा माधव नेपालले ओली समूहमा रहेका केही सांसद् आफ्नो समूहमा आउन तयार रहेकोले मानसम्मानमा कुनै कमी नगर्न उपस्थित सांसद्हरूलाई आग्रह गरे । सर्वोच्च आदालतले संसद् पुर्नस्थापना गरिदिएपछि ओली समूहका केही सांसद्ले क्याम्प परिवर्तन गर्ने चर्चा छ । यदि माधव नेपालले दाबी गरेजस्तो ठूलो संख्यामा ओली समूहमा रहेका सांसद् प्रचण्ड–नेपाल समूहमा आएको खण्डमा सो समूहले कांग्रेसविनै राजपालाई साथ लिएर सरकार गठन गर्नसक्ने सम्भावना देखिएको छ ।

प्रतिनिधिसभामा हाल प्रचण्ड–नेपाल समूहमा ९० जना सांसद् रहेको बताइन्छ । जसपाका ३४ सांसद छन् । तीमध्ये हरिनारायण रौनियार र रेशम चौधरी निलम्बनमा छन् । बाँकी ३२ सांसद र प्रचण्ड–नेपाल समूहका ९० गरी १२२ सांसद यो गठबन्धनमा हुने देखिएको छ । बहुमत पुग्न १ सय ३८ जना सांसद आवश्यक पर्छ । त्यसैले यो गठबन्धनलाई बहुमत जुटाउन थप १६ सांसद्को आवश्यक पर्ने देखिन्छ । माधव नेपालले दाबी गरेको ठूलो संख्यामा १६ प्लस रहेको खण्डमा प्रचण्ड–नेपाल र राजपाको गठबन्धन हुने देखिन्छ ।



राजपाले सर्वोच्चको निर्णयलाई सकारात्मक भनेको र पछिल्लो राजनीतिक घटनाक्रममा प्रचण्ड–नेपाल समूहसँग निकट रहेकोले पनि ऊ सरकारमा जान तयार छ । साथै, ओली निकटका मधेशका केही सांसदलाई आफूतिर या प्रचण्ड–नेपाल समूहमा ल्याउन पहल गर्न सकिने उनीहरूको निष्कर्ष रहेको छ । ओलीका पछिल्ला राजनीतिक गतिविधिले उनीसँग रूष्ट हुनेहरू पनि यही अवसरमा क्याम्प परिवर्तन गर्न सक्ने भएकोले प्रचण्ड–नेपाल र जसपाको सत्ता समीकरणले बहुमत जुटाउने सम्भावनालाई नकार्न नसकिने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

कांग्रेसलाई सरकारमा नजान दबाब
हिजो नै प्रचण्ड–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्ताव राखेका थिए । त्यस अवसरमा देउवाले पार्टीमा छलफल गरेर निर्णय लिने बताएका थिए । आज देउवाले यस विषयमा निर्णय लिन कांग्रेसका पदाधिकारीहरूको बैठक पनि बोलाएका छन् । आजको बैठकले कांग्रेस सरकारमा जाने या नजाने भन्नेबारे निर्णय लिने बताइएको छ ।

कांग्रेसका अधिकांश नेताहरूले कांग्रेस सरकाकरमा जान नहुने बताउन थालेका छन् । नेकपा फुट्दा पनि कांग्रेस संसदमा तेस्रो दल बन्ने भएकोले तेस्रो दलले प्रधानमन्त्री दाबी गर्दा कांग्रेसको छबी बिग्रने कतिपयले राय दिने गरेका छन् । देउवा समूह भने प्रधानमन्त्री नपाउने हो भने प्रतिपक्षमै बस्नु उचित हुने प्रस्ताव गर्ने तयारीमा छ । समग्रमा सरकारमा जाने विषयमा कांग्रेस एकमत हुन नसक्ने र प्रतिपक्षमै रहने सम्भावना बलियो देखिन्छ ।

चर्चामा आएजस्तो राष्ट्रपतिलाई पनि महाअभियोग लगाउन प्रचण्ड–नेपाल समूह तयार रहेको अवस्थामा भने कांग्रेसले राष्ट्रपति आफू लिएर प्रचण्डलाई प्रधानमन्त्रीमा सघाउने सम्भावना रहेको पनि बताइन्छ । यस्तो अवस्थामा राजपा र कांग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने देखिन्छ ।

 

 

सम्बन्धित समाचार