इलाम उपनिर्वाचनमा एमालेका नेम्बाङको अग्रता कायमै, कसको कति मत ? (मतपरिणामसहित)

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म साढे २७ हजार मत गणना भइसकेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लागेका छन्  ।

हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ७८ मत प्राप्त दरेका छन् भने  नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ३२४ मतसहित दोस्रो स्थानमा छन् । सुहाङ र डम्बरबिच ३ हजार ७५४ मतान्तर रहेको छ ।



त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९०१ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५१२ मत प्राप्त गरेका छन् ।

इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ-छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११ वडा (१० बाहेक) गरी ४२ वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए  ।

कांग्रेस उम्मेदवार खड्काले २९ हजार नौ सय ६ मत ल्याएका थिए । त्यसबेला कांग्रेसका खड्का तत्कालीन सत्ता गठबन्धनबाट माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत साझा उम्मेदवार थिए । अहिले खड्का एक्लै चुनाव लड्दा एमालेका नेम्बाङलाई भने माओवादी केन्द्र, नेकपा र नेपाल परिवार दलको समर्थन रहेको छ ।

सम्बन्धित समाचार