व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने

निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ ।

निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरण उपयोग गरी मतदाता नामावली अद्यावधिक गर्ने समझदारीअनुरुप सो कार्य अघि बढ्ने भएको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समझदारीअनुसार विभागले आफ्नो प्रणालीमा रहेका व्यक्तिगत घटना दर्तासम्बन्धी विवरण सुरक्षित प्राविधिक माध्यमबाट आयोगलाई उपलब्ध गराउनेछ ।

मतदाता नामावली अद्यावधिक प्रक्रियालाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले दुई निकायबीच यही कात्तिक १२ गते समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

विवरणको सुरक्षित आदानप्रदान तथा उपयोगका लागि आवश्यक प्राविधिक प्रणाली विकास, तथ्याङ्कको सुरक्षा र गोपनीयता कायम गर्ने व्यवस्था मिलाइने समझदारीपत्रमा उल्लेख छ ।

साथै, समझदारी कार्यान्वयनका क्रममा उत्पन्न हुने प्राविधिक विषय समाधान गर्न दुवैपक्षका प्रतिनिधि सम्मिलित संयुक्त प्राविधिक कार्यसमूह गठन गरिनेछ ।

यस सहकार्यबाट व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणालीमा रहेका विवरणको उपयोगमार्फत मतदाता नामावली अद्यावधिक तथा प्रमाणीकरण कार्य थप व्यवस्थित, विश्वसनीय र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।(रासस)

सम्बन्धित समाचार