साइन्स पढेका देवेन्द्रको पढाइमा ब्रेक लागेपछि पानीपुरी र चटपटेतिर

‘दाइ अलिकति पिरो, अलिकति अमिलो पचास (रूपैयाँ) को चटपटे बनाइदिनुस न’ ठेलामा पानीपुरी चटपटे बेचिरहेका देवेन्द्रको नजिकै आएर एक युवती भनिन् । युवतीले भनेअनुसार देवेन्द्र चटपटे बनाउँदै थिए ‘मलाई पनि बीस (रूपैयाँ) को चटपटे है दाइ’ सँगै भएका अर्का एकजना त्यसैमा थपे । ‘हवस् !’ प्याज काटिरहेका देवेन्द्रले भने । देवेन्द्रको छेउछाउमा मानिसहरूको एउटा सानो समूह छ । ‘दाइ अमिलो बढी राख्दिनुस्… । पिरो अलि धेरै राख्दिनुस है…. । तीसको चटपटे है दाइ…।’ …पानीपुरीको कति हो ?’ देवेन्द्रले आज धेरै समयपछि यस्तै कुरा सुनिरहेका छन् । सामान्य अवस्थामा जस्तो पानीपुरी र चटपटे बनाउनमा ब्यस्त नभए पनि आज देवेन्द्र अलि खुसी छन् ।

लामो समयदेखि लकडाउन र त्यसपछिका निषेधाज्ञाका कारण बन्द रहेको देवेन्द्रको पानीपुरी र चटपटेको व्यापार सुरू भएको आज (शुक्रबार) तेस्रो दिन हो । उनले व्यापार सुरू गरेको तेस्रो दिन भए पनि व्यापार भएको भने आज पहिलो दिन हो । हिजो अस्ती पानी परेर उनको व्यापार नै भएन ।



नाम देवेन्द्र शाह, घर विरगञ्ज । देशको संघीय राजधानी काठमाडौं आएको उनी सात वर्ष भइसकेको छ । यही काठमाडौं शहरमा ठेलामा पानीपुरी र चटपटे बेच्न थालेको पनि सात वर्ष भइसक्यो । प्लस टु मा साइन्स बढेका देवेन्द्रको शैक्षिक यात्रा त्यतिकैमा ब्रेक लागेको छ । उनको शैक्षिक यात्रामा ब्रेक लागेको उनले अघि बढाउन नचाहेर भने होइन, बढाउन चाहँदा चाहँदै पनि अघि बढाउन सकेनन् । कारण थियो आर्थिक अभाव । ‘प्लस टुमा मेरो सेभेन्टी वान पर्सेन्ड आएको थियो । तर, पैसा अभावले गर्दा प्लस टुपछिको बढाइ रोक्नुपर्ने भयो’ उनी सुनाउँछन् ।

पढाइ रोकिएपछि उनले पानीपुरी र चटपटेको व्यापार सुरू गरे । काठमाडौंमा अहिले उनको चार जनाको परिवार छ । कोठाबाट बिहान ११ बजे निस्केका देवेन्द्र साँझ ७ बजेसम्म दिनभर पानीपुरी र चटपटे बेच्ने गर्छन् । उमेरले भर्खरै बाइस वसन्त पार गरेका देवेन्द्र बाध्यताले गर्नुपरेको आफ्नो व्यापारप्रति भने सन्तुष्ट देखिन्छन् । ‘केही न केही काम त गर्नै पर्यो’ उनी भन्छन् ‘अरू केही काम गरौं भने सुरूबाट नै सिक्नुपर्ने हुन्छ । त्योभन्दा अहिलेलाई यही नै ठीक छ ।’

लकडाउन हुनुभन्दा अगाडिको सामान्य अवस्थामा उनको राम्रै व्यापार भइरहेको थियो । ‘पहिले त दैनिक कम्तिमा पनि हजार बाह्र सय भइरहन्थ्यो’ उनी भन्छन् ‘अहिले सबैतिर कोरोनाकै असर छ ।’ काठमाडौंमा केही दिनयता मानिसहरूको चहलपहल बढिरहेको छ । सार्वजनिक यातायातहरू पनि सञ्चालनमा आइसकेका छन् । सडकबजार, गल्लीहरूमा मानिसहरूको भिडभाड बढ्दै गइरहेको देखिन्छ । यसले देवेन्द्रलाई केही आशावादी बनाएको भए पनि उनी चाँडै नै व्यापार राम्रो हुने कुरामा भने ढुक्क देखिदैनन् । उनी भन्छन् ‘चहलपहल बढेको भए पनि अझै मान्छेहरूमा कोरोनाको डर नै देखिन्छ । चाँडै व्यापार राम्रो होला जस्तो देखिदैन ।’ स्कुल, कलेज, सिनेमा हल, पार्कलगायतका मनोरञ्जन स्थल सञ्चालनमा नआएसम्म पानीपुरी र चटपटेको व्यापार बढ्न नसक्ने उनको बुझाई छ ।

सम्बन्धित समाचार