एक मुसाले बचायो हजारौं नागरिकको ज्यान, उसलाई दिइयो ‘वीरता पुरस्कार’

हजारौं मानिसहरुको ज्यान बचाउने एउटा मुसालाई वीरता पुरस्कारले सम्मानित गरिएको छ । अफ्रिकी जातिको यो मुसालाई बेलायतको एक संस्थाले वीरता पुरस्कारले सम्मानित गरेको हो । मुसालाई सम्मानस्वरुप स्वर्ण पदक प्रदान गरिएको छ । मगावा नामको यो मुसाले कम्बोडियामा हजारौं नागरिकको ज्यान बचाएको थियो ।

द गार्डियनको रिपोर्टअनुसार मगावाले कम्बोडियामा आफ्नो सुँघ्ने शक्तिबाट ३९ ल्याण्डमाइन (बारुदी सुरुङ) र २८ विष्फोट नभएका अन्य विष्फोटकहरु पत्ता लगाएको थियो । यी विष्फोटकहरुका कारण हजारौंको ज्यान जाने खतरा थियो तर आफ्नो कामको क्रममा उसले यति धेरै विष्फोटक पत्ता लगाएर हजारौं ज्यान बचाएको थियो । यो वीरता पुरस्कार जित्ने मगावा पहिलो मुसा हो । मगवा अहिले ७ वर्षको छ र यो भाले मुसा हो ।



रिपोर्टका अनुसार शुक्रबार बेलायतको एक च्यारिटी संस्था पीडीएसएले यो मुसालाई सम्मानित गरेको हो । मगावाले दक्षिण पूर्वी एसियाली देश कम्बोडियामा १५ लाख वर्गफिटको क्षेत्रलाई बारुदी सुरुङ मुक्त बनाउने अभियानमा ठूलो सहयोग गरेको छ । यी बारुदी सुरुङहरु १९७० र १९८० को दशकका थिए जतिबेला कम्बोडियामा बर्बर गृहयुद्ध चलेको थियो । त्यतिबेला बिच्छ्याइएका बारुदी सुरुङ अहिलेसम्म थिए र तिनीहरुको विष्फोटमा मानिसहरुले ज्यान गुमाइरहेका थिए ।

कम्बोडिया १९७० र १९८० को दशकमा भयानक गृहयुद्धबाट प्रभावित देश हो । यस क्रममा युद्धरत दुवै पक्षले दुश्मनलाई मार्नको लागि ठूलो संख्यामा बारुदी सुरुङ बिच्छ्याएका थिए । तर, गृहयुद्ध सकिएको दशकौं बितिसक्दा समेत अझैसम्म यी बारुदी सुरुङले यहाँ मानिसको ज्यान लिइरहेका छन् । विगत केही वर्षदेखि अहिले यहाँ मुसाहरुलाई प्रशिक्षित गरेर ती बारुदी सुरुङहरु हटाउने अभियान चलिरहेको छ ।

यी मुसाहरुलाई विशेष किसिमको प्रशिक्षण दिएर बारुदी सुरङ खोज्ने काममा लगाइन्छ । यी मुसाहरुलाई कसरी विष्फोटकमा रहेका रासायनिक पदार्थको पहिचान गर्ने र बेकार धातुहरुलाई कसरी बेवास्ता गर्ने भन्ने विषयमा प्रशिक्षत गरिन्छ । यसरी प्रशिक्षित मुसाहरुले निकै कम समयमा बारुदी सुरुङको पहिचान गर्न सक्छन् र आफ्ना मानिस सहकर्मीलाई यसबारे सचेत बनाउँछन् । बेलायती च्यारिटी पीडीएसए यस्तो संस्था हो जसले हरेक वर्ष जनावरहरुलाई वीरता पुरस्कार प्रदान गर्ने गर्छ । संस्थाको ७७ वर्षको इतिहासमा मुसाले वीरता पुरस्कार जितेको भने यो पहिलो पटक हो ।

सम्बन्धित समाचार