अख्तियार र चिन्तामुक्त भ्रष्टाचार !

“चोर चोर मौसियात भाइ” । भोजपुरी भाषाको यो एउटा उखान हो । अर्थात् सबै चोरहरू आमा-सानीमाका छोराहरू जस्तै हुन्छन् । आमा र सानीमाका छोराहरू भन्नुको अर्थ दाजुभाइ हुन् । केही केही विषयमा सामान्य विवाद झगडा होला । लेनदेनमा कहिले काहीं ठाकठुक पर्ला तर भागवण्डा मिलेपछि खेल खत्तम भइहाल्छ । भागवण्डा नमिल्दाको विवाद र झगडाले मुलुकको हित हुनेवाला छैन । पार्टीको नाम जेसुकै राखौं, फरक पर्नेवाला छैन ।

नीति सिद्धान्त जति सुकै राम्रो बनाऔ, यदि हाम्रो व्यवहार पार्टीको नाम र नीति सिद्धान्तअनुसारको बनाउन सकेनौं भने कुनै अर्थ राख्दैन । हाम्रो सिद्धान्त अनुसारको व्यवहार भएन भने केही काम लाग्दैन । हाम्रो काम गराइले आधारभूत जनताको सेवा गरेन भने पार्टीको नाम र सुन्दर सिद्धान्त अनि नेताजीको खाइलाग्दो व्यक्तित्वको पनि कुनै अर्थ हँुदैन । मूल कुरा त हामी कसको लागि के गरिरहेका छौं भन्ने नै हो ।



राजनितीक दल र राज्य वर्गीय हुन्छन् । वर्गीय समाजमा जुनसुकै वर्गको सत्ता भए पनि राज्य मूलतः कमजोर वर्गका लागि हुनु पर्ने हो । राज्य सबैका लागि भए पनि विशेष गरी गरिब, र दुःखी तथा असहाय जनताहरूको संरक्षणको लागि हो । राज्य दलीत तथा उत्पीडित वर्ग र गाऊँ घरमा बस्ने पिछडिएका जनताहरूका लागि हो । राज्य दीन दुःखीहरूसम्म अति आवश्यक सेवा पुर्याउनको लागि हो । राज्य पिछडिएको जाती, जनजाति र दुर्गम क्षेत्रका जनतासम्म न्युनतम सेवा पुर्याउनको लागि संगठित संरचना हो ।

समाजमा हुनेखाने तथा ठूला ठालुहरूको लागि राज्य केवल सेवा लिने मेसिन हो । ठूलाठूला दलाल पुजीपतिहरू, सामन्तहरू र जमिन्दार तथा राजनीतीक ठालुहरूको लागि राज्य उनीहरूको कमाई सुरक्षित गरेर सेवा लिने निकाय हो । उनीहरूको नजरमा राज्य पैसा कमाउने र केवल कर उठाउने साधन मात्र हो । अर्थात् वर्गीय समाजमा राज्य हुनेखाने तथा धनी (पुँजीपति) हरूलाई आरामले कमाउन दिएर कमाइको केही प्रतिशत रकम करको रूपमा असुल गर्ने अनि त्यही रकमबाट गरिब दुःखी र पछि परेको समुदाय तथा आम जनतासम्म न्युनतम सेवा पुयाउन स्थापित सार्वजनिक संरचना वा निकाय हो ।

जुन राज्यका सेवामूलक निकायहरू आफैं जनता ठग्न उदत्त हुन्छन्, त्यो राज्य स्वतः कमजोर हुन्छ । जुन राज्यका जिम्मेवार पदाधिकारीहरू देशका सामन्त तथा दलाल पुँजीपतिहरूसँग बस्न पाएर नतमस्तक हुन्छन्, दलाल तथा नौकरशाही पुँजीपतिका अगाडी शिर झुकाएर देशलाई ठग्न लालायीत हुन्छन्, त्यो देश आफैं कमजोर हुन थाल्दछ । हाम्रो देशमा अहिले त्यस्तै त्यस्तै हुनलागेको छाँटकाँट देखिँदैछ । राज्यको ढुकुटीमा आम्दानी गर्न राज्यको तर्फबाट कर उठाउन खोलिएका प्रायः सबै अड्डाहरू भ्रष्टाचारमा डुब्दै गएका छन् ।

त्यस्ता खाले अड्डाका हाकीमहरू, कर्मचारीहरू आफुलाई सरकारको नोकर होइन मालिक ठानेर अख्तियार दुरुपयोग गर्दै भ्रष्टाचारमा लिप्त भएका छन् । तिनीहरूमध्ये कतिपय अकुत सम्पत्ति कमाएर लाल भएका छन् । अरू कति आरामले कमाउनमा व्यस्त देखिन्छन् । न्याय, इमान अनि देश निर्माणको सपना बाँड्दै गएका राजनीतिक प्राणीहरू पनि ‘देशको सेवालाई आफु र आफ्ना लागि मेवा नै मेवा’ बनाउन लागेका अनेकौं कथाहरू सुनिन्छन् ।

देशमा भ्रष्टाचार कहाँ छैन भनेर खोज्नु पर्ने स्थिति आउन लागिसक्यो । स्थानीय तहको अवस्था पनि त्यस्तै छ । प्रदेश पनि उस्तै छ । केन्द्र सरकारका विभिन्न निकायमा भएका भ्रष्टाचारको समाचार र चर्चा सुनी साध्य छैन । सुशासन र भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको दुर्दशा भएको छ । सरकारी नियुक्तिमा भ्रष्टाचार, पदोन्नतिमा भ्रष्टाचार, सरुवा र पदस्थापनमा पनि भ्रष्टाचार भएका खबर आउँछन् ।

योजना समावेश गर्नमा भ्रष्टाचार, टेण्डर (कोटेशन) मा भ्रष्टाचार, उपभोक्ता समिति गठनमा पनि भ्रष्टाचार भैरहेका छन् । औषधि खरिदमा भ्रष्टाचार, अनुदान सहयोगमा भ्रष्टाचार, हुँदा हुँदा लोगो (तक्मा) निर्माण र वितरणमा पनि भ्रष्टाचार, अब बाकी के रह्यो ? हाम्रो देशमा कतिसम्म लापरबाही र बेहाल छ । नगद देखेपछि महादेवका तीन नेत्र भन्थे । आजकल त अनुमान गर्न पनि कठिन हुन थालिसक्यो । कतै इमान भन्ने चिज पनि हुन्छ ?

केही सामान्य दृष्टान्त हेरौं । बालुटारको जग्गा हिनामिना प्रकरणमा मुछिएका एक जना साना कर्मचारीले आत्महत्या गरे । ठूला खालका बिचौलिया र दलालहरू छाती खोलेर हिँड्दैछन् । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको प्रश्नपत्र आउट गरी भ्रष्टाचार गरेको प्रकरणमा नाम मुछिएका अर्का एकजना निसहाय कर्मचारी लाजले आत्महत्या गर्न पुगे । सेवा आयोगमा राजनितीक नियुक्ती पाएका ठालुहरू जुँगा मुसारेर हिँडिरहेका छन् ।

अख्तियारले जनताको आँखामा छारो हाल्न शिक्षक, खरदार, सुब्बाबाहेक खास भ्रष्टाचारीलाई पक्राउ गर्न र कार्वाही गर्न सकेको छैन । अख्तियारमा लोकमान सिंह र नवीन घिमीरे दुबैको कार्यकालमा एक रत्ती पनि फरक देखिएन । सबै भ्रष्टाचारी ठालुहरू आफ्ना एजेण्ट र कामदारहरूलाई भनिरहेका हुन्थे– ‘निर्धक्क भएर हिम्मतका साथ काम गर, अख्तियारको चिन्ता नगर ।’ यसरी उनीहरू आफ्नो लुटको बजार चलाइरहेका थिए र चलाइरहेका छन् पनि ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर– ५, कटुन्जे निवासी रामहरि सुवेदी आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिए । कलंकीस्थित मालपोत कार्यालयका कर्मचारी उनी सेवाग्राहीसँग एक हजार घुस लिएको आरोपमा ४२ दिनसम्म थुनामा राखिए । थुनामा चरम यातना दिइएका उनलाई भ्रष्टाचार मुद्दामा विशेष अदालत पेस गरियो । विशेष अदालतले तारिखमा छोडेको सातौ दिनमा उनले आत्महत्या गरे । यति मात्र होइन, अख्तियारको गलत नीतिले यस्ता थुप्रै झिना मसिना कर्मचारीहरूलाई ‘आफ्नै’ नोट थाम्न लगाएर जेल पठाइएका छन् । यस्ता अनगिन्ती खुद्रा खाले घट्नाहरू ठूला माछाहरू जोगाउन र आम नागरिकको अाँखामा छारो हाल्न गरिएका कार्वाही त होइन ? भन्ने आशङ्का आम रूपमा व्याप्त छ ।
त्यतिमात्र होइन, अख्तियारले कतिपय जिल्लाहरूमा सामान्य आधारभूत विद्यालयहरूमा प्राविको एउटा राहत शिक्षक नियुक्ति गरेको केसमा हुलका हुल गाउँलेहरूलाई लाइन लगाएर वर्षौंसम्म तारेखमा राखेर हैरान बनाउने काम पनि गरेको छ । एकातिर निम्न वैतनिक कर्मचारीहरूलाई आत्महत्या गर्न बाध्य बनाउने अर्कोतिर लाटा सोझा जनतालाई तारिख धाउन लगाएर ठालुहरूको सेवा गर्ने अख्तियार प्रमुखलाई सरकारले पुरस्कार स्वरूप ठूलै तक्माले सम्मान गरेछ ।

कहानी यतिमा मात्र सीमित हुँदैन । देशमा अहिले भएका चर्चित भ्रष्टाचार सम्बन्धी स्क्याण्डलहरूमा देशका अख्तियार प्रमुख आरामले भ्रष्टाचारीकै पक्षमा उभिएका थिए । अहिलेसम्म सबैभन्दा बढी चर्चामा रहेको आयल निगमको जग्गा सम्बन्धी भ्रष्टाचार मुद्दालाई उनले तामेलीमा राखिदिए । विवादित ओम्नी कम्पनीसँग भएको औषधि खरिद सम्बन्धी अवैध ठेक्का र नक्कली सामान सम्बन्धी छानविन प्रकरणलाई पनि बागमतीमा सेलाइदिए । बालुवाटार जग्गा प्रकरणका ठूला माछाहरूलाई मज्जाले उम्काइदिन सफलता प्राप्त गरे । मिलेमतो गरेर भएको रेलवेको ३३ अरबको ठेक्कापट्टामा योजनाबद्ध ढंगले राज्यलाई गरिएको ठगीमा दुधको साक्षी बिरालो मात्र भइदिए ।

उनी वाईडवडीलाई अल्मल्याउन सफल भएकै हुन् । किसानको अनुदानमा भएको अरबौं भ्रष्टाचार कता हरायो कता । चिनीको कोटा निर्धारणमा भएको अनियमितता र खेलकुदमा भएको भ्रष्टाचारको उजुरीमा छानविन गर्न पनि जरूरी ठानेनन् । नेपाल दूरसंचार संस्थानमा ३ अरबको सामाग्री खरिदमा भएको अनियमितता सम्बन्धी केस सित्तैमा पचाउन मद्दत गरे । ‘ठूला ठूला भ्रष्टाचारीहरूलाई खुल्लम खुल्ला माफी, खुद्रा–खाद्रीलाई ठोक्दै हिड्छ, वाह ! अख्तियार क्या इन्साफी’ भन्ने उखान स्थापित गरिदिए । यस्ता अख्तियार प्रमुखलाई त नेपाल रत्नले नै विभूषित गर्नु पर्ने थियो । खुद्रा–खुद्री पदक मात्र भिराएछन् ।

आजको देशको राजनीतिक नेतृत्व अर्थात् कम्युनिष्ट पार्टीको बलियो सरकार भ्रष्टाचारको चंगुलबाट मुक्त हुनु आवश्यक थियो । यसले देशका तिनै तहका सरकार र प्रशासनलाई भ्रष्टाचार मुक्त बनाएर जनताको सेवा गर्ने वातावरण बनाउन सक्नु पर्दथ्यो । त्यसको लागि कुनै पनि भ्रष्टाचारका घटनालाई पारदर्शी ढंगले छानबिन गरेर दोषीहरूलाई निसंकोच कार्यवाही गरेर जनतामा ल्याउन सक्नु पर्दथ्यो । तर खोई ? आँट्नै सकेनन् । आँटुन पनि कसरी ?

सरकार विगतमा लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन ज्यान छोडेर लाग्नेहरूको प्रभावमा पर्यो । त्योबेला इमान देखाउन खोज्ने नेताहरू पनि भ्रष्टाचारविरूध्द खुलेर बोल्न सकेनन् । हिजो लोकमानले अति गर्न लागेपछि संसदमा महाभियोग दर्ता भयो । किन हो, उक्त महाभियोगको प्रस्ताव पारित गर्ने आँट पनि गरेनन् । सर्वोच्च अदालतले विदा गरेपछि उनीमाथि कुनै किसिमको छानविन भएन । किन ? सबै प्रश्नहरू अनुत्तरित छन् ।

सबै इमान्दारहरू सत्तामा भएको बेला लोकमानसिंह जस्तो बेइमान सकुशल फुत्किन सफल भए । आज एउटा सुब्बाले १०÷२० करोड रूपैयाँ भ्रष्टाचार गरेर लुकाएकोे सुनिन्छ । पाँच पाँच वर्षसम्म देशव्यापी रूपमा नेटवर्क बनाएर समानान्तर सत्ता चलाएका लोकमानले कति खाए होलान् ? भनिन्छ– उनले देशभरीका भ्रष्टाचारीहरूलाई परिचालन गरेर लुटको साम्राज्य खडा गरेका थिए ।

अहिले सरकारी अड्डाहरूमा ‘म भ्रष्टाचार गर्दिन । भ्रष्टाचार गरेको पनि सहन्न’ भनेर लेखेको बोर्ड देख्न पाइन्छ । ‘म भ्रष्टाचार गर्दिन र सहन्न’ लेखेर झुण्ड्याइएको बोर्डमुनि बसेर योजनाको मोलमोलाई भइरहेको हुन्छ । ठेकापट्टाबाट प्राप्त कमिसनको हिसाब किताब भइरहेको हुन्छ । अनि ठूला ठूला कमिसनका योजना बनिरहेको हुन्छ । कसैलाई कसैको डर छैन ।
तर, अब गम्भीर हुने बेला आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बलियो र प्रभावकारी बनाउनै पर्दछ । त्यसको लागि अख्तियारमा पूर्व कर्मचारी होइन, हिम्मत र सहासका साथ निर्ममतापूर्वक भ्रष्टाचार र भ्रष्टाचारीमाथि प्रहार गर्न सक्ने व्यक्तित्व खोजेर नियुक्त गरिनु पर्दछ । चाहेमा निडर र स्वच्छ छवि भएका व्यक्ति नपाइने होइन । अझै पनि गम्भीर भएर निर्णय नगर्ने हो भने भ्रष्टाचारले देश डुब्ने छ । देश डुबेपछि कोही बाँकी रहँदैन । आऔं, भ्रष्टाचाररूपी महारोगलाई नियन्त्रण गर्न एक जुट होऔं । अहिले पनि मोलाहिजा गरेर भ्रष्टाचारीमाथि निर्मम प्रहार गर्न सकिएन भने देश बनाउने सपना केवल सपनामा मात्र सीमित हुनेछ । चेतना भया ।

(लेखक नेकपाका नेता एवं पूर्व मन्त्री हुन्)

सम्बन्धित समाचार