नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असाेज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच आज र भोलि गरेर मन्त्रिपरिषद् पुर्नगठन गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजीनामा माग्ने मन्त्री र नयाँ मन्त्रीमा सहमति भएको छ । अहिले जारी मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीको राजीनामा मागिने भएको छ ।
बालुवाटार स्रोतले दिएको जानकारी अनुसार भोलि मन्त्रिपरिषद् पुर्नगठन हुने भएकोले केहीको राजीनामा माग्न नै आज आकस्मिक रूपमा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । दुई वर्ष कार्यकाल पूरा गरेकालाई बिदाइ गर्ने बताइए पनि उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापालाई निरन्तरता दिइने भएको छ ।
नयाँ मन्त्रीमा पनि ओली प्रचण्डबीच सहमति भैसकेको छ । उनीहरूबीच यसअघि चर्चा नभएका सुवास नेम्वाङलाई पनि सरकारमा लैजाने सहमति भएको बताइन्छ । महासचिव विष्णु पौडेलसहित स्थायी समिति सदस्य भीम रावल, जनार्दन शर्मा सोमप्रसाद पाण्डे, पम्फा भूषाल, देवेन्द्र पौडेलले यसपटको पुर्नगठनमा अवसर पाउने भएका छन् ।
मापदण्डअनुसार नयाँ मन्त्री छान्ने बताइए पनि अब तयार हुने सरकार नै निर्वाचनसम्म कायम रहने भएकोले नाम चलेका र जनताले आशा गरेकै नेताहरूलाई मन्त्री बनाउन लागिएको छ । आजको भेटमा ओली–प्रचण्डबीच कम्तिमा पनि ३ मन्त्रालय फुटाएर फुल मन्त्रीको संख्या नै २४ पुर्याउने बताइएको छ । यससँगै हाल कायम रहेका ३ जना राज्यमन्त्रीको पनि बिदाइ हुने भएको छ ।

