आज कति थपिए कोरोना संक्रमित ?

नेपालमा आज (आइतबार) एकै दिन थप एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ । देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् ।



देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।

सम्बन्धित समाचार