नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ असोज ।

नेपालमा आज (आइतबार) एकै दिन थप एक हजार ५७३ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यस्तै हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।
देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । शनिबार देशचर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।
आज कुन जिल्लामा कति संक्रमित थपिए ?
आज प्रदेश–१ को झापामा ३, भोजपुरमा १, मोरङमा १ सय ५२ र सुनसरीमा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश–२ को धुनषामा १, पर्सामा १७, बारामा २०, महोत्तरीमा ३, रौतहटमा १६, सप्तरीमा ८, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना संक्रमण पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्रै ६३३ जनामा कोरोना पुष्टि भएको छ । चितवनमा ८३, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७२, मकवानपुरमा १, रसुवामा १, रामेछापमा १, ललितपुरमा १ सय ४ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेशको कास्कीमा २८, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ८, लमजुङमा २०, बाग्लुङमा ३२ र स्याङजामा ३ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश–५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ३०, नलवपरासीमा १, प्युठानमा २, बर्दियामा ३३, बाँकेमा ३३, रुपन्देहीमा ४७ र रोल्पामा ५ जनामा कोरोना पाइएको छ ।
कर्णाली प्रदेशको दैलेखमा ४, सल्यानमा १२ र सुर्खेतमा ७६, सुदूरपश्चिमको अछाममा २, कञ्चनपुरमा १३, डोटीमा १, बझाङमा २४ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
