दशैं नजिकिए पनि बजारमा चहलपहल अझै हुन सकेन

नेपालीहरूको महान चाड दशैं आउन अब एक महिना मात्रै बाँकी छ । अघिल्ला वर्षहरूमा यस समयमा शहर बजारमा दशैंको चहलपलह बढेको हुन्थ्यो । बजारमा किनमेल गर्नेहरूको भीड लागेको हुन्थ्यो । व्यापार व्यवसायीहरूले त झन् यो सिजनमा असाध्यै ब्यस्त हुन्थ्ये । फुटपाथका व्यापारीहरूदेखि सपिङ महलसम्म मानिसहरूको चहलपहल देखेर दशैंको रौनक छाएको देखिन्थ्यो ।

तर अहिले कोरोना भाइरसको महामारीका कारण अघिल्ला वर्षहरू जस्तो शहर बजारमा दशैंको चहलपहल छैन । कोरोनाका कारण लामो समयसम्म ठप्प रहेको व्यापार व्यवसाय सञ्चालनमा आए पनि व्यापार भने खासै हुन नसकेको व्यापारीहरू बताउँछन् । प्रायजसो दशैंको सिजनमा धेरै राम्रो व्यापार हुने गरेको भए पनि अहिले त्यस्तो हुन नसक्दा व्यापारीहरू निराश छन् । यो समय ग्राहकको अत्याधिक भीडभाड हुने राजधानीका प्रमुख व्यापारिक क्षेत्र न्यूरोड, असन, इन्द्रचोकलगायतका स्थानका फुटपाथदेखि सपिङ सेन्टरसम्म अहिले दशैं आउन लागेको कुनै आभास छैन । कोरोना महामारीका कारण चहलपहल घटेपछि यसपाली व्यापार व्यवसाय मन्द छ ।



सिजनको बेला पनि व्यापार राम्रो हुन नसकेको बताउँछन् न्युरोडमा व्यापार सञ्चालन गर्दै आएका व्यापारी संशाद । उनी भन्छन् ‘पसल खोल्नु मात्रै हो, दिनभर गरेर एउटा सामान पनि बिक्री हुन सकेको छैन ।’ अहिलेको महामारीका बेला धेरैजसो ग्राहकहरूसँग खासै पैसा पनि नभएकोले व्यापार हुन नसकेको अर्का व्यापारी सोनु बस्नेत बताउँछन् । अहिले कोरोनाले गर्दा ग्राहकहरूको चहलपहल नबढेको हुनाले यसपाली दशैं आउन लागेको आभास नभएको उनी बताउँछन् । तर कतिपय व्यापारीहरू भने पछिल्लो समय कोरोनाका कारण अनलाइन व्यापार बढेकाले पनि अहिले बजारमा चहलपहल नदेखिएको बताउँने गरेका छन् ।

अहिले अलिअलि होलसेल बजार चहलपलह भए पनि खुद्रा बजार चहलपहल नभएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल बताउँछन् । दशैं नजिकिदै गर्दा अहिले बजारमा सामानहरूको अभाव नभएको उनको भनाई छ ।

 

सम्बन्धित समाचार