मन्त्रिपरिषद् पुर्नगठन : संख्यामा कुरा मिल्यो, मन्त्रालयका बारे विवाद कायमै

मन्त्रिपरिषद् पुर्नगठनका बारेमा भागवण्डा मिलाउन हम्बे हम्बे परेपछि नेकपा अध्यक्ष प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रालयको संख्या बढाउने सहमति भएको छ । हाल मन्त्रिपरिषद्को कार्यालयसहित २२ मन्त्रालय रहेकोमा तीन मन्त्रालय फुटाएर अब भने २५ मन्त्रालय बनाइने भएको छ । ओली र प्रचण्डबीच हिजो भएको छलफलमा तीन मन्त्रालय फुटाउने सहमति भएको थियो ।

त्यसैगरी २५ मन्त्रालय भागबण्डामा पनि नेकपामा सहमति जुटेको छ । जसअनुसार ओलीले प्रधानमन्त्रीसहित ९ मन्त्रालय पाउने भएका छन् भने प्रचण्ड (पूर्वमाओवादी) ले पनि ९ मन्त्रालय पाउने भएका छन् । त्यसैगरी वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालले ७ मन्त्रालय पाउने भएका छन् । समग्रमा हेर्दा पूर्वएमालेले १६ र पूर्व माओवादीले ९ मन्त्रालय पाउने देखिएको छ ।



मन्त्रालयको संख्यामा सहमति भएसँगै आज बस्ने नियमित मन्त्रिपरिषद्को बैठकले नै मन्त्रिपरिषद् पुर्नगठनको तयारी थाल्ने योजना ओली–प्रचण्डको रहेको थियो । तर कुन मन्त्रालय कुन समूहले पाउने भन्नेमा सहमति हुन नसक्दा मन्त्रिपरिषद् पुर्नगठनको लागि अझै केही दिन लाग्ने देखिएको छ । अध्यक्षद्वयले आकर्षक मन्त्रालय आफैंले राखेर फुटाएपछि बनेका र जनजीविकाको सवालमा प्रभाव पार्न नसक्ने खालका मन्त्रालयहरू मात्र आफूहरूलाई दिन लागेको भन्दै खनाल र नेपालले आपत्ति जनाएपछि ओली–प्रचण्डले थप गृहकार्य गरेर कुन नेतालाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने तया गर्ने तयारी गरेका छन् ।

यता बिदाइ गर्ने मन्त्रीहरूमा पनि तीन समूहले आफू निकट कुन मन्त्रीलाई फिर्ता बोलाउने र कुन नेतालाई मन्त्री बनाउने भन्ने निर्णय लिने भएका छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफूनिकट अधिकांश नेताहरूलाई दोहोर्याउने भएका छन् । प्रचण्डले भने पूर्व माओवादीतर्फका कम्तिमा ५ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिने तयारी गरेका छन् । यता खनाल–नेपाल समूहले पनि आफूनिकट २ मन्त्री योगेश भट्टराई र घनश्याम भुषालको कार्यकाल २ वर्ष पुरा नभएकोले उनीहरू दुबैलाई निरन्तरता दिने भएका छन् ।

ओलीको आग्रह ६ जना मन्त्री मात्र थपौं

प्रधानमन्त्री ओलीले भने दशैंअगाडि मन्त्रीहरूको राजीनामा माग्नुभन्दा खाली तीन र मन्त्रालय फुटाएर थपिने ३ गरी हाल ६ मन्त्री थपेर अगाडि बढ्न आग्रह गरिरहेका छन् । तर ओलीको आग्रहलाई प्रचण्डले इन्कार गरेको बुझिएको छ । ओलीले नेता नेपालललाई पनि फोनवार्तामा मन्त्रीहरूको बिदाइ गर्नपट्टि नलाग्न आग्रह गरेको बताइन्छ । असहज परिस्थितिमा हुँदै गरेका काम पनि मन्त्रीहरू फेरबदल गरेपछि बिग्रने भन्दै कूल भागबण्डामा जो निकटका कम मन्त्री छन् उनीहरूकै सिफारिसमा ६ जना मन्त्री थप्न सकिने ओलीले बताउँदै आएका छन् ।

तर प्रचण्डले भने पूर्वमाओवादीतर्फबाट मन्त्री बनेका र हाल ओलीनिकट रहेका २ मन्त्री रामबहादुर थापा र लेखराज भट्ट आफ्नो कोटामा गनिने भएकोले मन्त्रीहरू फेरबदल गर्न जोड दिइरहेका छन् । ओलीले भनेअनुसार नयाँ मन्त्री मात्र थप्दा आफ्नो भागमा एक मन्त्री मात्र पर्ने र त्यसमा पनि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पठाउनुपर्ने अवस्था आएकोले प्रचण्ड भने कम्तिमा १ दर्जन मन्त्री थप्नुपर्ने बताउँदै आएका छन् । यी विषयमा सहमति जुटेसँगै मन्त्रिपरिषद् पर्नुगठनले मूर्त रूप पाउने नेकपा स्रोतको दाबी छ ।

सम्बन्धित समाचार