
भदौ १७ गते राती भारी वर्षापछि भुजिखोलामा आएको भीषण बाढीले ढोरपाटन नगरपालिकास्थित वडा नं ७, ८ र ९ मा अकल्पनीय क्षति पुगेको छ । बाढीमा परी धेरैले ज्यान गुमाएका छन् भने कैयौं मानिस अङ्गभङ्ग भएका छन् । धेरैको घरबास छैन, जगा जमीन पनि बगर भएको छ । अहिले ढोरपाटनको बाढी पीडितहरूका लागि राहत रकम तथा सामाग्री सहयोग जुट्ने क्रम जारी छ ।
बाढी प्रभावित नागरिकहरूलाई एनपिओ गलकोट समाज जापानले नगद रू २७ लाख ८० हजार ४ सय ७८ राहत सहयोग हस्तान्तरण गरेको छ । गलकोटबाट रोजगारी र अध्ययनको सिलसिलामा हाल जापानमा रहेका गलकोटबासीहरूको साझा संस्था गलकोट समाज जापानले उक्त रकम बाढी प्रभावितलाई सहयोग गरेको समाजका अध्यक्ष दिलु खत्रीले जानकारी दिए । समाजले जापानमा संकलन गरेको उक्त रकम गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेमार्फत ढोरपाटन नगरपालिकाको दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको अध्यक्ष खत्रीले बताए ।
गलकोट समाज जापानको आग्रहअनुसार ढोरपाटनमा राहात रकमको भौचर हस्तान्तरण गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले प्रवासमा रहेका गलकोटबासीले दुःख गरी कमाएको कमाइको केही अंश बाढी प्रभावितलाई दुःखमा मलम लगाउन सहयोग गरेको भन्दै उक्त राहतको सही सदुपयोग गर्न आग्रह गरे । सो अवसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले प्रवासबाट उपलब्ध भएको रकमले बाढी तथा पहिरो प्रभावितहरूका लागि ५ लाख रूपैयामा प्रति घर हुने गरी ६ ओटा घर गलकोट समाज जापानको नाममा निर्माण गरिने घोषणा गरे । उनले गलकोट समाज जापान प्रति आभार व्यक्त गर्दै गलकोट समाजको आग्रहअनुसार आवास निर्माण तत्कालै संचालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
ढोरपाटन नगरपालिकाका नगर प्रमुख नेपालीले गलकोट नगरपालिकाबाट विभिन्न संघ संस्था तथा व्यक्तिहरूबाट गरी हाल सम्म ३७ लाख २८ हजार २ सय ६८ रूपैयाँ उपलब्ध गराएको बताउदै सहयोगी मनहरूलाई धन्यबाद ज्ञापन गरेका छन् । गलकोट समाज जापानले अहिलेसम्म सबैभन्दा बढी रकम बाढी प्रभावितलाई राहत सहयोग प्रदान गरेको समेत उनले उल्लेख गरे ।
