नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।

काठमाडौंमा चल्ने सवारी साधानमा जोरबिजोर प्रणालीमा कडाइ गरिएको छ । मंगलबारबाट ट्राफिक महाशाखाले चेकजाँचमा कडाइ गरेको महाशाखाका प्रवक्ता एसपी रामेश्वर प्रसाद यादवले बताए ।
मंगलबार बिहानभरीमा मात्रै एक हजार ५८ वटा सवारी साधान प्रहरीले नियन्त्रणमा लिएका छ । तीमध्ये १ सय ६१ वटा चारपांग्रे र बाँकी दुईपांग्रे हुन् । नियन्त्रणमा लिइएको सवारीसाधान सडकमै होल्ड गरिएको छ । उपत्यकाका तीन जिल्लाका सीडीओले जोरबिजोर प्रणालीमा सवारी साधान सञ्चालन गर्ने निर्णय गरेपनि चेकजाँच नहुँदा सवारीको चाप बढेको थियो ।
‘हामीले पनि चेकजाँचमा केही कम गर्यौं, मान्छेहरुले नियमै मान्न छाडे, कोरोना संक्रमणको जोखिम भने दिनदिनै बढिरह्यो, त्यही भएर आजदेखि थप कडाइ गरिएको छ’, ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले भने, ‘अब कसैको केही लाग्दैन, नियम नमान्ने सवारीलाई छाड्दैनौं ।’
कारबाही नगर्दा उल्लंघन बढेकाले फेरि कडाइ गर्न थालेको ट्राफिकले जनाएको छ । अब कुनै पनि बहानामा जान नदिने ट्राफिकको तयारी छ । एसपी ढकालले भने, ‘धेरैले नक्कली कार्ड बनाएर पनि सवारी चलाइरहेको पाइएको छ, अब यी सबै कुरामा कडाइ हुन्छ ।
भदौ १५ गतेदेखि उपत्यकाको सवारी आवागनमन जोरबिजोर प्रणालिका आधारमा खुल्ला गर्ने निर्णय भएको थियो । यस्तै व्यवसाय सञ्चालनका लागि समय तोकिएको थियो । तर सरकारको यो निर्णय पुर्णरुपमा कार्यन्वयन भने भएको छैन । पसलहरु निर्वाध रुपमा खुलेका छन् भने सवारी साधान पनि नियम मिच्दै गुडिरहेका छन् । असोज १ गतेबाट भने लामो दूरीका सवारी साधान पनि चल्न थालेका छन् ।
