
दशैं आउन करिब तीन हप्ता बाँकी रहँदा यातायात व्यवस्था विभागले दशैंको अग्रिम टिकट बुकिङ छिट्टै खुल्ने जनाएको छ । विभागले दशैंको अग्रिम टिकट बुकिङ खुलाउँन यातायात व्यवसायीहरूलाई आग्रहसमेत गरिसकेको विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए ।
अग्रिम टिकट बुकिङका सम्बन्धमा विभागले व्यवसायीहरूसँग छलफल गरेको र व्यवसायीहरू पनि आफ्नो आन्तरिक तयारी गरेर सेकेसम्म चाँडै खोल्ने पक्षमा रहेको प्रवक्ता भुसालले बताए । दशैंका लागि अग्रिम टिकट बुकिङ कहिले खोल्ने भन्ने विषयमा अहिलेसम्म मिति तय नभए पनि अब छिट्टै नै खुल्ने सङ्केत गरे ।
विभागले अग्रिम टिकट छिट्टै खुल्ने भने पनि यातायात व्यवासायीहरू भने यस विषयमा औपचारिक रूपमा कुनै छलफल नभएको बताउँछन् । राष्ट्रिय यातायात व्यावसायी महासंघका महासचिव सरोज सिटौलाले अहिले रोग र प्रकृति दुबैसँग लड्नु परेको अवस्थामा आफूहरूले अग्रिम टिकट बुकिङको बारेमा ‘एक शब्द पनि नसोचेको’ र यस विषयमा सरकारसँग औपचारीक छलफलसमेत नभएको बताए । अहिले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरू धेरै नभएको र भएको यात्रुहरू पनि अहिलेदेखि नै गइरहेकोले अग्रिम टिकट बुकिङको आवश्यक नहुने उनको धारणा छ ।
लामो दूरीका सार्वजनिक यातायात असोज १ गतेबाट सञ्चालनमा आएदेखि हालसम्म दुई लाख ७ हजार ७ सय ७४ जना यात्रु उपत्यकाबाट बाहिरिसकेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार उक्त अवधिमा एक लाख ९७ हजार २४ यात्रुहरू काठमाडौं उपत्यका प्रवेश गरेका छन् ।
अग्रिम टिकट बुकिङ खुलाउनुभन्दा पहिला अहिले लागु भइरहेको आधा सिटमा मात्रै यात्रु राख्ने निर्णय सच्याउनु पर्ने व्यवसायीहरूको माग छ । आन्तरिक उडान भर्नेलाई पूरा सिटमा यात्रु राख्नदिने गरेको तर सार्वजनिक यातायातमा सिट क्षमताको आधा मात्र यात्रु राख्नदिने गरेको सरकारको निर्णय विभेदकारी भएको व्यवसायीहरूको भनाइ छ ।
व्यवासायीहरूले स्वास्थ्य मापदण्डहरूको पालना गरेर पूर्ण सिट क्षमता यात्रु बोक्न पाउँनुपर्ने भन्दै विभागलाई अनुरोध गरेको भए पनि यसबारेमा सरकारले नै निर्णय गर्नुपर्ने विभागका प्रवक्ता भुसालले बताए । अहिले गत भदौं २९ गते सरकारले गरेको निर्णयअनुसार नै सार्वजनिक यातायात सञ्चालन भएकोले अन्य निर्णय नहुँदासम्म यसलाई नै निरन्तरता दिनुपर्ने उनले बताए ।
सरकारले सार्वजनिक यातायातमा सिट क्षमताको आधा मात्र यात्रु राख्ने र साविकको भाडामा ५० प्रतिशत बढाएर लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेपछि गत असोज १ गतेदेखि लामो, मध्यम र छोटो दूरीका सवारी सञ्चालन आएका थिए । व्यवसायीको चौतर्फी दवावपछि लामो दूरीको सार्वजनिक यातायात खुलाउन बाध्य भएको सरकारले गत असोज ५ गतेबाट आन्तरिक उडानसमेत खुल्ला गरिसकेको छ ।
