
नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य नियुक्तिका विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथि आज बहस हुँदैछ। मुद्दामा गौतमको पक्षबाट नेपाल बार एसोसियसनका पूर्वअध्यक्षसहित वरिष्ठ र चर्चित १३ जना अधिवक्ताहरुले बहस गर्ने भएका छन्।
वरिष्ठ अधिवक्ता प्रा।डा। युवराज संग्रौलाका अनुसार वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, राघवलाल वैद्य, प्रेमबहादुर खड्का, चन्द्रकान्त ज्ञवाली, कुमार शर्मा आचार्य लगायतकाले बहस गर्ने छन्। केसी नेपाल बार एसोसियसनका पूर्वअध्यक्ष हुन्। यस्तै वैद्य, खड्का र ज्ञवाली संविधानको विषयमा राम्रो बहस गर्ने वरिष्ठ अधिवक्ताका रुपमा चिनिन्छन्।
यसका साथै गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने सरकार र सोको सिफारिस गर्ने पार्टी नेकपाले समेत छुट्टै अधिवक्ता यो मुद्दाको बहसमा खटाउने संग्रौलाले जानकारी दिए। सरकारी कार्यालयका तर्फबाट महान्याधिवक्ताको छुट्टै टोलीले गौतमको पक्षमा बहस गर्नेछन्।
मुद्दा दायर गर्ने दिनेश त्रिपाठीका पक्षबाट पनि वरिष्ठ अधिवक्ता हरि उप्रेतीसहित ९ भन्दा बढी वकिलले बहस गर्नेछन्। बहस आजै सकिने सम्भावना भएको उनले बताए।
