नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका एकजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि विभागका सबै सेवाहरु बन्द गरिएको छ भने श्रम स्वीकृति पनि बन्द हुने भएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि विभागले प्रदान गर्दै आएका सबै सेवाहरु बुधबारदेखि बन्द गरेको कार्यालयका महानिर्देशक कुमारप्रसाद दहालले जीएनएन नेपाललाई बताए ।
उनका अनुसार कार्यालयमा हाल ५५ जना कर्मचारी कार्यरत रहेका छन् । एकजना कर्मचारीमा कोरोना देखिएपछि सेवा सञ्चालन गर्दा घुलमिल धेरै हुने भएकाले सेवा बन्द गरिएको हो ।
कार्यालयमा कार्यरत कर्मचारीहरुको पिसिआर रिपोर्ट नआउँदासम्म कार्यालय बन्द गरिएको उनले जानकारी दिए । अन्य श्रम कार्यालयहरुबाट भने श्रम स्वीकृति जारी भइरहेको महानिर्देशक दहालले बताए ।
