नवकान्तिपुर संवाददाता
काठमाडौं
बलिवुड अभिनेत्री सारा अली खानले अभिनेता सुशान्त सिंह राजपुतसँग आफ्नो ब्रेकअप बारे खुलासा गरेकी छन् । ड्रग प्रकरणमा नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले गत शनिबार लिएको बयानका क्रममा साराले सुशान्तसँगको आफ्नो सम्बन्धका बारेमा खुलासा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
बयानका क्रममा फिल्म केदारनाथको सुटिंगका क्रममा आफुहरुले एक अर्कालाई डेट गरेको साराले स्वीकार गरेकी छन् । साथै साराले सुशान्तसँग ब्रेकअप हुनुको कारण समेत एनसीबीलाई बताएकी छन् । साराले सुशान्त आफुहरुको सम्बन्धमा इमान्दार नभएको आरोप लगाउदै आफुले गर्ने फिल्ममा सुशान्तलाई हिरोको रुपमा लिन आफुलाई दबाब दिएको बताएकी छन् ।
साराले ड्रग प्रकरणमा भने आफुले ड्रग नलिएको बताउँदै सिगरेट भने पिएको बताएकी छन् । उनले केदारनाथ फिल्मको सुटिंगका क्रममा आफुले सुशान्तसँग सिगरेट मात्र पिएको बताउदै ड्रग कहिल्लै नलिएको बयान दिएकी छन् । शनिबारनै बयानका क्रममा अर्की अभिनेत्री दीपिका पादुकोणले समेत ड्रग लिएको अस्वीकार गरेकी छन् ।
बयानका क्रममा दीपिकाले आफ्नो च्याटमा उल्लेख गरिएका शब्दहरुको अर्थ एनसीबीका अधिकारीहरुलाई बताएकी छन् । आफुले ड्रग नलिएको बताउदै दीपिकाले २०१७ को आफ्नो ह्वाट्सएप च्याटमा उल्लेख भएको माल शब्दको अर्थ सिगरेट भएको बताएकी छन् । एनसीबीको मालको अर्थ के हो भन्ने प्रश्नमा दीपिकाले आफुहरुले सिगरेटलाई माल भन्ने गरेको बताउदै तपाइँहरुले सोचेको जस्तो मालको अर्थ नभएको बताएकी छन् ।
अब एनसीबी ड्रग प्रकरणमा के गर्ने भन्ने अन्योलमा परेको बताइएको छ । एनसीबीसँग च्याटका अलावा अन्य प्रमाण नरहेकाले अब यो प्रकरणमा अगाडी बढ्न मुश्किल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।