नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।

सरकारले कोरोना परीक्षणमा बढी शुल्क लिने अस्पताललाई कडा कारवाही गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही निजी अस्पतालका प्रयोगशालाले सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएकाले कारवाही गर्ने चेतावनी दिएको हो ।
तोकिएको शुल्कभन्दा बढी शुल्क लिएका अस्पतालले २४ घण्टाभित्र शुल्क समायोजन नगरे तत्काल परीक्षण स्विकृति खारेज गरिने र ती प्रयोगशालाहरुलाई कालोबजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउने गरी गृह मन्त्रालय र वाणिज्य विभागलाई कारवाहीका लागि पत्राचार गर्ने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।
उनका अनुसार हयाम्स अस्पताल, बि एण्ड बी अस्पताल, सूर्य हेल्थ केयर लगायतका प्रयोगशालाहरुले निर्धारित शुल्कभन्दा बढी शुल्क लिएका छन् । हाल सरकारले पिसिआर परीक्षणका लागि सबै प्रयोगशालाहरुलाई २ हजार रुपैया मात्र तोकेको छ ।
