
पर्यटन मजदुरहरूले नेपाल पर्यटन बोर्डमा तालाबन्दी गरेका छन् । आफूहरूका समस्याहरूलाई पर्यटन बोर्डले नजरअन्दाज गरेको भन्दै पर्यटन मजदुर संघर्ष समितिले बुधबार बोर्डमा तालाबन्दी गरेका हुन् । आफ्ना समस्याहरूका बारेमा यसअघि आफूहरूले सम्बन्धित पक्षसँग पटकपटक ध्यानकर्षण गराउँदा सुनवाई नभएकोले आफूहरूले बाध्य भएर बोर्डमा तालाबन्दी गर्नुपरेको उनीहरूको भनाइ छ ।
देशको अर्थतन्त्रलाई सबैभन्दा बढी टेवा पुर्याउने पर्यटन क्षेत्रका मजदुरहरूलाई सम्बन्धित निकायहरूले बेवास्ता गरेकोले आफूहरू तालाबन्दी लाउन बाध्य भएको पर्यटन मजदुर संघर्ष समितिका संयोजक प्रकाश घायल राईले नवकान्तिपुरलाई जानकारी दिए । पर्यटन मजदुरका समस्याहरूप्रति सरकार र सम्बन्धित निकायहरूले ध्यान नदिँदा मजदुरहरू अप्ठ्यारोमा परेको उनको गुनासो छ ।
कोभिड–१९ का कारण पर्यटन मजदुरहरू धेरै नै प्रभावित भएकाले तत्काल मजदुर कल्याणकारी कोषको रकमबाट मजदुरहरूलाई राहत दिनुपर्ने संयोजक राईले बताए । ‘मजदुरहरूको नाममा सञ्चय कोष बनाइएको छ, त्यो कोषको बजेट किन कार्यन्वयनमा ल्याइँदैन ? त्यसलाई तत्काल कार्यन्वयनमा ल्याइनु पर्छ’ नवकान्तिपुरसँग उनले भने । सरकारी निकायहरूले मजदुरहरूले विगत ५ वर्षदेखि मजदुर कल्याणकारी कोषमा जम्मा गर्दै आएको करिब १५ करोड रूपैयाँ मजदुरको हितमा खर्च गर्न नमानेको उनको भनाइ छ । साथै उनले हिजोका दिनहरूमा आफूहरूले राज्यलाई सहयोग गर्दागर्दै पनि आज सरकार र सम्बन्धित निकायहरूले मजदुरहरूलाई बेवास्ता गर्नु एकदमै गैरजिम्मेवारी भएको उनले बताए । पर्यटन मजदुरहरूको हितमा सरकारले काम गर्न नसकेको उनको आरोप छ ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत वर्षको चैत ११ गतेबाट देशभर लकडाउन गरेसँगै पर्यटन क्षेत्रसमेत ठप्प भएको थियो । अहिले सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि पर्यटन क्षेत्र भने अझै पनि बन्द नै छ । जसका कारण पर्यटन क्षेत्रबाट हजारौं पर्यटन मजदुरहरूको रोजगारी गुमेको उनीहरूको भनाइ छ ।
