नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असोज ।

सरकारले परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बैरागीलाई मुख्यसचिव बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघिका मुख्यसचिव लोकदर्शन रेग्मीले राजीनामा दिएका छन् । कार्यकाल सकिनु केही दिन बाँकी हुँदा उनले राजीनामा दिएका हुन् । मुख्यसचिव रेग्मीको कार्यकाल कात्तिक ३ गतेसम्म थियो । मुख्यसचिवमा शंकरदास वैरागी, केदार अधिकारी, मोहनकृष्ण श्रेष्ठलगायत दौडमा थिए ।
मुख्यसचिवका लागि एक दर्जनबढी सचिवहरुको दौडधुप चलिरहेको थियो । जसमा प्रधानमन्त्री ओली निकटका सचिवहरु रहेका थिए । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीबीच तिव्र प्रतिस्पर्धा थियो ।
