पुरुषोत्तम पौडेल
काठमाडौं, १६ असाेज ।
हामी कम्युनिष्ट पार्टीमा लाग्दा सामन्तवाद तथा दलाल नौकरशाही पुँजीवादलाई नेपाली जनताको मुख्य शत्रु भनेर पढाइएको थियो । सामन्तवादलाई बुझ्न हामीलाई खास कठिनाइ थिएन । गाउँ गाउँमा सामन्तहरूको रजधज तथा शोषण व्याप्त थियो । अझ तराई क्षेत्रमा त सामन्तहरूको बिगबिगी थियोे । दलाल तथा नौकरशाही पुँजीपतिहरूलाई बुझ्न निक्कै समय लाग्यो । आजकल भने दलाल तथा नौकरशाही पुँजीपतिहरूको बजार अलि गरम भएको देखिन्छ । देशको पुँजीबजार र लगानीको क्षेत्रलाई उनीहरूको सिधंै नियन्त्रण गर्न थालेको देखिन्छ । अरू त अरू राज्यले लगाउने ठेक्कापट्टामा समेत दलाल पुँजीपतिहरूले हातको सफाई गरेको चर्चा हुन थालेको छ । त्यसैले होला अहिले दलाल पुँजीपति वर्गलाई नेपाली समाजको परिवर्तनको प्रमुख बाधाको रूपमा हेर्न थालिएको छ ।
हामी किशोर अवस्थादेखि नै राजनीतिमा समाहित भयाैं । सुरूदेखी नै ‘दलाल पुँजीवाद’ को ठाडो विरोध गरेर नारा लगाउदै आएका पनि हाैं । जति विरोध गरे पनि यसको अर्थ र चरित्र भने राम्ररी बुझिएको थिएन । दलाल पुँजीवादको घनघोर विरोध गरेको हुनाले यसलाई बुझ्ने सन्दर्भमा मैले पनि थोरै मेहनत गरेको थिएँ । वीरगंज जेलमा बस्दा विभिन्न विषयमा गम्भीर वहस हुने गर्दथ्यो । एक दिनको घमासान वहस दलाल पुजीवादको बारेमा थियो । त्यो वहसलाई मैले आफ्नो जेल डायरीमा उतारेको थिएँ । अहिले डायरी पल्टाउँदै जाने क्रममा दलालपुजीवादका बारेमा गरेको टिपोट चट्ट फेला पर्यो । स्पेनिस भाषाको ‘कम्प्राडोर’ शब्दबाट विभिन्न भाषाहरू घुम्दै फिर्दै नेपाली भाषामा आइपुग्दा बनेको ठेट शब्द हो ‘दलालपुजीवाद ।’
दलाल पुँजीपति देशका त्यस्ता कारोबारी व्यवसायीहरू हुन, जो आफैं उत्पादनशील र सिर्जनाका काम गर्दैनन् । उनीहरू केवल विदेशी लगानीकर्ताहरू र ठूला पुँजीपतिहरूका स्थानीय दलाल भएर सेवा गर्दछन् । विशेष गरी औपनिवेशिक कालमा विदेशी कम्पनीहरूलाई सिधै अर्को देशमा गएर काम गर्न सम्पर्क, भाषा सहित अनेक थरीका समस्या आई पर्दथ्यो । त्यसले गर्दा उनीहरू पहिले स्थानीय दलालहरूलाई हातमा लिएर आफ्नो काम निकाल्ने गर्थे । विदेशी मालिकहरूले आफ्नो काममा सहयोग गरे वापत स्थानीय दलालहरूलाई निश्चित धनराशि दलाली भागको रूपमा दिन्थे । दलालहरू त्यसैमा रमाउथे र आफ्नो देशभन्दा विदेशी मालिकहरूको जयजयकार गर्दथे ।
उनीहरूको बफादारी पनि विदेशी मालिकहरूसँगै हुने गर्दथ्यो । यसो हुनाले उनीहरूको राष्ट्रीयतासँग कुनै संगत साइनो हुँदैन थियो । उनीहरूको सरोकार दलाली र उद्देश्य पैसा कमाउनु मात्र हुन्थ्यो । तिनै दलालहरू कालान्तरमा ‘दामदार’ भएर दलाल पुँजीपति कहलिएका हुन् । दलालहरूसँग दलाली गरेर कमाएको पुँजीको श्रोत हुँदैन थियो । उनीहरू आफ्नो पुँजीलाई वैध बनाउन लगानीका क्षेत्रहरू खोजी रहेका हुन्थे । यसै क्रममा उनीहरूको नोकरशाही तन्त्रसँग मितेरी गाँसिन पुग्छ । भ्रष्ट राजनितीक नेताहरूसँग साइनो कसिन्छ । विस्तारै देश डुबाउने प्रपञ्च सुरू हुन्छ ।
दलाल पुँजीपतिहरू आफैं उद्योग धन्दा खोलेर उत्पादनमा लाग्दैनथे । उत्पादनमा नलागेपछि देशको कच्चा पदार्थ विदेश पठाउने र विदेशबाट पक्का मालवस्तु झिकाएर कमिसन खाने काममा लागिरहन्थे । यसले आफ्नो देशमा रोजगारीका अवसरहरूको सिर्जना हुँदैन थियो । यसपछि देशमा स्वाभाविक ढंगले बेरोजगारी र गरिबी बढ्दै जान्छ । देशबाट कच्चा पदार्थ पठाउने र मालवस्तु भित्र्याएर विदेशी कम्पनीसँग कमिसन खाने दलालहरू भने पैसावाल र झन् झन् धनी हुँदै जान्थे । उनीहरू जति जती धनी हुँदै जान्थे, त्यति ठूला दलाल हुन्थे र देशलाई कमजोर वनाउने जाल बुन्दैजान्थे । सारमा ‘देशविरूध्दको षडयन्त्र, कमिसन खोरी र भ्रष्टाचारको ठिमाहा सन्तान नै दलालपुँजीवाद’ हो ।
दलालहरू आफ्नो लागि ठूला ठूला र राम्रा राम्रा बङ्गला बनाउँथे । विलासी र महँगा गाडीहरू खरिद गरेर ऐश आराम गर्थे । आफ्नो देश जति जति उँधो लागेर कङ्गाल भए पनि दलालहरूलाई कुनै मतलव हुँदैन थियो । यसैले होला नेपालका प्रायः सवै कम्युनिष्ट घटकहरूले ‘दलाल पुँजीवादको अन्त्य र राष्ट्रिय पुँजीको विकास’ को पक्षमा अडान राख्दै आएका छन् । विशेष गरी तेस्रो विश्वका देशहरूमा युरोपियन व्यापारीहरूले आफ्नो तर्फबाट काम गर्नको लागि खटाएका प्रबन्धकहरूलाई नै दलालपुँजीपतिको रूपमा चिनिन्थ्यो । आज विश्वमा संगठित लगानीकर्ताहरू तिनै प्रबन्धकहरू र तिनका आसेपासेहरू नै हुन् ।
नेपालमा ब्रिटिस गोर्खा भर्तीको सुरूआत र १९५० को सन्धिपछि दलालपुँजीपतिको गर्भाधान भएर विकास हुन सुरू गरेको हो । पंचायतकालभरि दलाल पुँजीवाद सुषुप्त अवस्थामा थियो । २०४८ सालको आम चुनावपछि नेपाली कांग्रेसको बलियो सरकार बन्यो । त्यसपछि निजीकरण र उदारवादको नाममा स्वदेशी कच्चा पदार्थमा आधारित सबै कलकारखानाहरू निजीकरण गरियो । यसले देशमा उत्पादकत्व घट्यो र बेरोजगारी समस्याको श्रृजना गर्नुका साथै दलाल पुँजीवादको लागि स्थान खाली गरिदियो । यहीँबाट नेपाली युवाहरूमा विदेश पलायनको चक्कर चल्यो अनि सरकार विदेश पलायनलाई समेत प्रोत्साहन र प्रवद्र्धन गर्न थाल्यो ।
माक्र्सवादी शास्त्रीय दृष्टिकोणले हेर्ने हो भने विदेशी साम्राज्यवादीहरूको स्वार्थ रक्षा तथा उसको पुँजी बजार विस्तार गर्नको लागि राष्ट्रिय हितविपरीत काम गर्न तयार विचौलियाको तप्का नै दलाल पुँजीपति हो । दलाल पुँजीपतिहरू जहिले पनि राष्ट्रिय पुँजीको विकासको विपक्षमा रहेका हुन्छन् । उनीहरूको स्वभाव र चरित्र आफ्नै पुँजीको लगानी गरेर वैध आम्दानी गर्ने खालको हुँदैन । उनीहरू सधैं विदेशी पुँजी र विदेशी लगानीको पक्षमा वकालत गरिरहेको हुन्छन् । जुनसुकै देशका नागरिक भए पनि उनीहरू केवल मुनाफा र निजी लाभमा निर्लिप्त हुन्छन् । उनीहरूका सवै काम केवल दलाली भागका निम्ति मात्र हुन्छन् । मूलतः लाभ र पुँजीका निम्ति आफ्नो स्वत्वसमेत बेच्न तयार व्यवसायिक तप्का नै दलाल पँुजीपति हो ।
दलाल पुँजीवाद मुलतः राष्ट्रिय सीमाभित्र रहँदैन । दलालहरूको राष्ट्रवादसँग कुनै साइनो–सरोकार पनि हुँदैन । यसको अर्थ दलाल पुँजीपतिहरू नागरिकताको बन्धनमा बाधिएर बस्दै बस्दैनन् । उनीहरू दोहोरो तेहरो नागरिकता बोकिरहेका हुन्छन् । देशको सीमा र नागरीकताको बन्धनबाट मुक्त शोषणको कुरूप प्रतिनिधि नै दलाल पुँजीपति हुन् । आफ्नो स्वत्व र छुट्टै राष्ट्रियता नभएको नाफाखोर पुँजीको चरित्र नै दलाल खालको हुन्छ । मूलतः दलाल पुँजीवादले देशको उत्पादकत्व र उत्पादन बढाउने क्षेत्रमा लगानी गर्दैन । उसको लगानी सहज नाफा र तत्काल सेवा दिने क्षेत्रका काममा मात्र सीमित हुने गर्दछ ।
दलाल पुँजीवाद देशको सत्ताको साँचो चलाउने मूख्य ताकतको सबैभन्दा नजिकको मित्र बनेर बस्न रूचाउँछ । दलाल पुँजीवाद नोकरशाही तन्त्रको भित्रिया मित्र हुन्छ । उसले राजनितिक नेतृत्वलाई भन्दा पहिले कर्मचारीतन्त्रलाई आफ्नो बनाइसकेको हुन्छ । नोकरशाहीतन्त्र जहिले पनि देशको सुरक्षा र प्रगतिभन्दा आफ्नो सुरक्षा र भविष्यप्रति चिन्तित हुन्छ । यसको निम्ति बढी सचेत र क्रियाशील पनि हुन्छ । यसैले दलाल पुँजीवादसँग यसको बहुतै गाढा सम्बन्ध हुन्छ । दलाल पुँजीपतिहरूले नौकरशाही पुजीपतीको माध्यमबाट देशको राजनीतिक नेतृत्वलाई पनि आफ्नो चंगुलमा पारेको हुन्छ ।
यस्तो पृष्ठभूमि र अहिलेको अवस्थाको मूल प्रश्न के हो भने आखिर को थिए त विगत दशकहरूमा नेपालका ती सबै विदेशी पुँजीवादका दलालहरू ? अहिले ती दलाल पुँजीवादीहरू नेपालमा कहाँ बसेर कोसँग के गर्दैछन् ? आजकल नेपालमा किन ‘दलाल पुँजीवाद मुर्दावाद’ को नारा लाग्दैन ? के अब नेपालमा दलाल पुँजीवाद पनि पराजित भएर राष्ट्रिय र उत्पादनशील पुँजीपति वर्गमा रूपान्तरण भएको हो र ? कि दलाल पुँजीवादले अड्डा मात्र परिवर्तन गरेको हो ? फेरि पनि कतिपय संवेदनशील क्षेत्रका महानुभावहरूको दलाल पुँजीवादसँगको नाता सम्बन्ध झाङ्गिएको देख्दा दलाल चरित्रको मर्म पात्रहरूले राम्रैसँग बुझेको प्रतीत हुन्छ ।
हाम्रो देशको राजनीतिक नेतृत्व पनि दलाल पुँजीपतिहरूको चंगुलभन्दा बाहिर देखिँदैनन् । हिजो दलालनौकरशाही पुजीपतिहरूको नाइके लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन को को लागे ? कोकसले इमान देखाउने प्रयत्न गरे ? फेरि अलिकति कसरतपछि कसरी बिलाए ? लोकमानसिंह कार्कीले अति गरेपछि संसदमा महाभियोगको प्रस्ताव दर्ता भयो । तर फेरि महाभियोग माथि छलफल गराएर पारित गर्ने आँट किन गरिएन ? सर्वोच्च अदालतले विदा गरेपछि उनीमाथि किन सामान्य छानविन पनि भएन ? देशका छानिएका इमान्दार महाशयहरू सत्तामा भएर पनि लोकमानसिंह जस्तो देशघाती व्यक्ति कसरी फुत्कन सफल भयो ? कारण दुनियाका अगाडि स्पष्ट छ । लोकमानसिंह देशभरिका दलाल तथा नौकरशाही पुँजीपतिहरूका नाइके थिए । उनीमाथि छानविन गरी कार्यवाही गर्ने कुराले धेरैलाई अप्ठेरोमा पार्न सक्ने थियो । खिस्सा खत्तम भयो ।
शुद्ध नाफा कमाउन क्रियाशील कम्पनी ‘यती’ का साधारण कर्मचारी नेपाल ट्रष्ट जस्तो विशुद्ध शैक्षिक तथा सामाजिक उद्देश्य बोकेको राजकीय संस्थाको वोर्डमा पुग्न सफल भए । यती गु्रपकै अनेक व्यापारिक कम्पनीका लागि नियम मात्र होइन अध्यक्ष परिवर्तन गर्न सरकार तयार भयो । एनसेलजस्तो कम्पनीको अरवौंको आयकर छुट प्रकरण रूमलिएर वर्षौ वर्ष थन्कियोे । उसलाई कर छुट गराउन राज्यका दिग्गज दिग्गज व्यक्तित्वहरू मज्जाले लागिपरे । सर्वोच्च अदालत उसैको पक्षमा फैसला गर्न तयार भएको जस्तो लाग्छ । अनि देशभक्त सरकार मरिमेटेर ओम्नीजस्ता अविश्वसनीय धन्दावाल कम्पनीको पछि लागिरहेको हुन्छ । मेलम्चीमा काम गरिरहेको ठेकेदारलाई भगाएर अझ बढी लगानी थप्न मरिमेटिन्छ ।
वास्तवमा दलाल पुँजीवादले ठूला ठूला पार्टी कार्यालयहरूमा अड्डा जमाउन थालेको बुझिन्छ । हिजो भएका राजनितिक नियुक्तिमा अब्बल क्षमता देखाएका र जनताले रूचाएका कुलमान घिसिङ जस्ता काबिल व्यक्ती किन योग्य ठहरिएनन् ? योग्य व्यक्तिलाई अयोग्य बनाइने र दलाल पुँजीवादका पक्षपोषण गर्नेहरूले चाहिँ राज्यका अहम् स्थानमा नियुक्ति पाउँदै जाने परम्पराले निरन्तरता पाइरहेको छ ।
हामी अहिले देशमा राजनीतिक क्रान्ति पूरा भएको कुरा गरिरहेका छौं । राजनीतिक क्रान्ति पूरा हुनुको अर्थ अब देशमा सामन्तवाद तथा दलाल पुँजीवादको अन्त्य भएको मान्नु पर्छ । तर तथ्यले त्यस्तो देखाउँदैन । सामन्तवाद सल्वलाउन छोडेको छैन । देशमा दलाल नौकरशाही पुँजीवाद झन् संगठित र प्रभावी भएको देखिन्छ । यसको मतलव देशले दलाल पुजीवाद विरूद्ध अर्को टफ लडाई लड्न बाँकी नै छ । अर्थात् सामन्तवाद पराजित भएर सुषुप्त अवस्थामा भए पनि दलाल पुँजीपति वर्ग झन् बलियो भएर आउँदै गरेको देखिन्छ ।
अहिले देशको व्यापार घाटाको आँकडा विकराल छ । देशभित्र स्वदेशी उद्योग कल कारखाना खुल्नुको सट्टा बन्द हुँदै गएको अवस्था छ । देशमा दलाली गरी खाने चरित्रका व्यापार तथा सेवा व्यवसाय मात्र फस्टाएको अवस्था छ । अझ यस्तोमा सरकार आफंै लगानी सम्मेलन गरेर ठूला लगानी कर्ताहरू र विदेशी पुँजीपतिहरूलाई गुहार लगाइरहेको छ । उनीहरूलाई आफ्नो देशमा आएर लगानी गरिदिन बिन्तिभाउ गरिरहेको छ । उनीहरू नआइदिने हुन कि भनेर चिन्ताले पसिना बगाई रहेको छ । यसले दलाल नौकरशाही पुँजीवाद मौलाउने बाटो अझ फराकिलो पारिदिन्छ र राष्ट्रिय पुँजी र आत्मनिर्भर अर्थतन्त्रको विकासको सम्भावनालाई नै खुम्च्याई दिन्छ । यो नेपाल जस्तो देशको निम्ति किमार्थ शुभ लक्षण होइन । यसर्थ जनताले क्रान्ति सम्पन्न गर्यौ, भनेर ढुक्क हुने बेला भएको छैन । क्रान्ति निरन्तर जारी रहन्छ ।
(लेखक नेकपाका नेता एवं पूर्व मन्त्री हुन्)