नवकान्तिपुर संवाददाता
काठमाडौं, १६ असोज ।

राष्ट्रिय सभा सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज पनि नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको संवैधानिक इजलासले मुद्दा सुनुवाई गरिरहेको छ। गत बुधवार हेर्दाहेर्दैमा राखी आजको लागि सुनुवाईको मिति तय गरिएको थियो । साथै अब आउने बुधवार मात्रै मुद्धाको सुनुवाई हुने भएको हो । आज दुई सरकारी वकिल र वामदेव पक्षका केही कानून व्यवसायीहरूले बहस गरेका थिए।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा नेतृत्वको संवैधानिक इजलासले बुधबार सुनुवाई नसकिएपछि उनीविरुद्ध परेको मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबै पक्षबाट बहस भए पनि अझै बहस गर्ने क्रम नसकिएकोले आज सम्मलाई सुनुवाई सारेको थियो ।
नेकपा उपाध्यक्ष गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सो रिटमाथि गत असोज ७ गते न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले उनको पद यथास्थितिमा राख्न र उनलाई थप संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।
