नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आइतबारलाई तय भएको छ । शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शनिबार अपराह्न ४ बजे बैठक बोलाउने समझदारी भएको बताइएको थियो ।
शनिबार बिहान आइतबार अपराह्न ४ बजे बैठक बस्ने गरी खबर आएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘भोलिको लागि खबर भएको छ । आइतबार अपराह्न ४ बजे बैठक बस्नेछ’, उनले भने ।
भोलि बस्ने बैठकमा यसअघि नै तय भएका र छलफल हुन बाँकी रहेका विषयमा छलफल हुने नेकपाका नेताहरूले जानकारी दिएका छन् । नेकपामा केन्द्रीय सदस्यलगायत पूर्णकालीन कार्यकर्तालाई तलब दिने, कोरोना कालभरि सांसदहरूले बैठक भत्ता नलिनेलगायत एजेन्डा छलफल हुन बाँकी छन् ।
पार्टीभित्र मन्त्रिपरिषद् पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद बढीरहेको सन्दर्भमा बोलाईएको सचिवालय बैठक निकै चासोपूर्ण रुपमा समेत हेरिएको थियो । भोलि बस्ने बैठकमा पछिल्लो गतिविधि र मन्त्रीमण्डल पुर्नगठन लगायतका बारेमा छलफल हुने बताईएको छ ।
