नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असाेज ।

प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ जना, सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।
अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन । तर केहीको रिपोर्ट आउन बाँकी छ ।
शनिबार मात्र प्रधानमन्त्रीका तीन सल्लाहकार र स्वकीय सचिवलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रधानमन्त्री ओलीको रिपोर्ट भने नेगेटिभ आएको छ । सचिवालयका सदस्यहरुको भन्दा एक दिनअघि, विहीबार, स्वाब लिएर गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका चिकित्सक डा दिलीप शर्माले बताए ।
