नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ असाेज ।

नेपाली कांग्रेसको आज बस्ने भनिएको पदाधिकारी तथा पूर्वपदाधिकारीको अनौपचारिक बैठक स्थगित भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार भोलिका लागि बोलाइएको केन्द्रीय समिति बैठक स्थगित गर्ने वा सञ्चालन गर्नेबारे आज दिउँसोसम्म निर्णय हुनेछ।
नेपाली कांग्रेसका चार जना केन्द्रीय सदस्यलाई कोरोना संक्रमण देखिएपछि केन्द्रीय समिति बैठक अनिश्चित भएको हो। गत विहीबार दिइएको स्वाबको रिपोर्ट शनिबार आउँदा चार जना केन्द्रीय सदस्यमा कोरोना पुष्टि भएको थियो।
कांग्रेसले केन्द्रीय सदस्य, नेताका स्वकीय सचिव, केन्द्रीय कार्यालयका कर्मचारी र नेताका सुरक्षामा खटिएका सुरक्षाकर्मीलगायत गरी दुई सय ५० जनाको स्वाब परीक्षण गर्न टेकुस्थित प्रयोगशालामा पठाएको थियो। केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, गगन थापा, आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र कल्पना चौधरीमा कोरोना संक्रमण देखिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।
फागुनमा तोकिएको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न सकिन्छ कि कार्यतालिका हेरफेर गर्नुपर्छ ? भन्ने एजेन्डालगायतमा छलफल गर्न केन्द्रीय समिति राखिएको हो। तर नेताहरूमा कोरोना संक्रमण देखिएपछि सोमबार केन्द्रीय समिति बैठक बस्ने कि नबस्ने अनिश्चित छ।
