संविधान संशोधन नभएसम्म सरकारलाई खबरदारी गरिरहन्छौंः अध्यक्ष उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधानमा रहेका केही प्रावधान संशोधन गरी सबैको अपनत्व हुने खालको वातावरण नबनेसम्म सचेत युवाले खबरदारी गरिरहनुपर्ने बताए ।

सप्तरीको राजविराजमा आज आयोजित युवा पार्टी प्रवेश कार्यक्रममा उनले आदिवासी, जनजाति, दलित, मधेशी तथा सीमान्तीकृत समुदायको माग सम्बोधनका लागि संविधान संशोधन आवश्यक रहेकामा जोड दिए । संवैधानिक आयोग तथा अन्य निकायमा नियुक्ति गर्दा ८० प्रतिशतसम्म एउटै समुदायबाट ल्याइएको आरोप पनि उनले लगाए ।



तत्कालीन समाजवादी युवा फोरमका अध्यक्ष आतेश यादवका अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रियसभाका सदस्यद्वय शेखर सिंह र मृगेन्द्रकुमार सिंह यादव, प्रदेश नं २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रदेशसभा सदस्य मनीष सुमनलगायतले पनि संविधान संशोधन नभएसम्म आफूहरु मौन भएर नबस्ने चेतावनी दिए । कार्यक्रममा विभिन्न दल परित्याग गरी जसपमा प्रवेश गरेका २८५ युवालाई फूलमाला र अबिर लगाई स्वागत गरिएको थियो ।

सम्बन्धित समाचार