नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असाेज ।

मन्त्रिमण्डल पुर्नगठनमा विवाद बढ्दै जाँदा समाधानको लागि बोलाइएको नेकपा सचिवालय बैठक कोरोना संक्रमणको कारण प्रभावित भएपछि दशैंअगाडि मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । हिजोलाई तय भएको सचिवालय बैठक बालुवाटारमा कोरोना फैलिएकोले स्थगित भएको थियो । सचिवालय स्थगित भएपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका थिए । सो छलफलमा ओलीले मन्त्रिपरिषद् पुर्नगठन दशैंपछाडि सार्ने र हाललाई खाली ३ मन्त्रालयमा ३ मन्त्री नियुक्त गर्ने प्रस्ताव राखेका थिए ।
पार्टीमा असन्तुष्टि चुलिएको बेलामा ३ मन्त्री छान्न महाभारत हुने भन्दै प्रचण्डले प्रम ओलीलाई को कसलाई मन्त्री बनाउनुहुन्छ ? भनेर प्रश्न गरेका थिए । ओलीले भने हाल कोरोनाको प्रभावका कारण बैठकहरु बस्ने अवस्था नभएकोले असन्तुष्टहरूको माग दशैंपछि सम्बोधन गरौंला भन्दै हाललाई विष्णु पौडेल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डेलाई खाली ३ मन्त्रालयमा पठाउने योजना सुनाएका थिए ।
ओलीको ३ मन्त्री थप्ने योजनामा प्रचण्डले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई मानाएमा आफ्नो तर्फबाट कुनै आपत्ति नभएको जवाफ फर्काएको स्रोतको दाबी छ । ओलीले नेपाललाई तपाईको तर्फबाट हाललाई पाण्डेलाई मन्त्री बनाउँ, अन्यलाई दशैं पछि बनाउला हाललाई खाली ३ मन्त्रालयमा मन्त्री नियुक्ति गर्ने विषयलाई समर्थन गरेर संकट टार्न सहयोग गर्न फोनबाटै आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ । नेपाल र खनाल यसविषयमा कुनै निष्कर्षमा नपुगेका भए पनि ओली भने सोही अनुसार निर्णय लिने र आउन सक्ने विवादको सामना गर्ने तयारीमा देखिन्छन् ।
हिजो बालुवाटारमा भएको ओली प्रचण्डबीचको वार्तामा विष्णु, शंकर र जनार्दनलाई पनि सहभागी गराईएको थियो । ओलीले नै पौडेल र शर्मालाई मन्त्री बन्न तयार रहन भनेका थिए । उनीहरूले मन्त्रालयको बारेमा चासो राख्दा ओलीले ‘त्यसको जिम्मा मलाई नै दिनुहोस् भन्ने जवाफ फर्काएको बताइन्छ । अर्थ, शहरी विकास र सञ्चार मन्त्रालय खाली रहेकोले यिनै ३ मन्त्रालयमा तपाईहरूलाई पठाउने हो, यसमा थप लभिङ नगर्नुहोस् । तपाईहरुको केही असन्तुष्टि भएमा दशैंपछि पुनर्गठन हुन्छ । त्यो बेलामा हेरौंला’ ओलीको भनाई अद्धृत गर्दै स्रोतले भन्यो ।
कसलाई कुन मन्त्रालय ?
प्रधानमन्त्री ओलीले महासचिव विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन् । हालै प्रदेश ५ को राजधानीका विषयमा असन्तुष्ट रहेका पौडेल र रुपन्देहीका जनतालाई शान्त पार्न पनि उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो । यसअघि मन्त्री बन्न चासो नदेखाइरहेका पौडेल अर्को निर्वाचनलाई मध्यनजर राख्दै जनतासँग जोडिन र राजधानी सारिएको विषयमा असन्तुष्ट रहेका जनतालाई कामबाटै जवाफ फर्काउन सजिलो हुने भन्दै अर्थ मन्त्री बन्ने भएका हुन् ।
यता खाली रहेका अन्य दुई मन्त्रालय शहरी विकास र सञ्चारमा क्रमश सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई पठाइने भएको छ । यद्दपि शर्माले प्रचण्डसँग सञ्चारमा नजाने भन्दै शहरी विकासको दाबी गरिरहेको बताइन्छ । यता अर्थ मन्त्रालय ताक्दै आएका पाण्डे पनि सञ्चारमा जानुभन्दा मन्त्री नै नबने बताउँदै आएकोले शर्माले सञ्चारमै चित्त बुझाउनुको विकल्प नभएको बताइन्छ । उनी पुनर्गठनको समयमा मन्त्रालय हेरफेर गर्ने शर्तमा सञ्चारमा जान तयार भएको बताइन्छ ।
