नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ असोज ।

प्रदेश ५ को राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको निर्णयलाई लिएर नेकपामा हलचल ल्याएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीका विश्वासपात्र मानिएका प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो राजनीति बचाउन भालुवाङलाई राजधानी बनाउने निर्णयमा पुगेपछि अहिले नेकपाभित्र हलचल ल्याएको छ ।
मुख्यमन्त्री पोखरेलको निर्णयले प्रधानमीमन्त्री ओलीका अर्का विश्वास पात्र नेकपाका महासचिव विष्णु पौडेलले चर्को असन्तुष्टी जनाएका छन् । आफ्ना दुई विश्वास पात्रहरूबीचको विवादका कारण पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् भने पार्टीको सचिवालयमासमेत मत विभाजित हुने देखिएको छ ।
रूपन्देही २ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका महासचिव पौडेलले गत प्रतिनिधिसभा निर्वाचनको चुनावी प्रचारका क्रममा बुटवललाई प्रदेश राजधानी बनाउने प्रतिबद्धता जनाएका थिए । तर अहिले आएर आफूले जनतासामु जनाएको प्रतिबद्धताविपरीत पार्टी अध्यक्ष्यद्वयले प्रदेश राजधानीबारे निर्णय लिएपछि पौडेल असन्तुष्ट बनेको स्रोतले जनाएको छ । यसअघि पार्टीका दुई अध्यक्षबीचको विवाद मिलाउन मध्यमार्गी भूमिका खेलेका पौडेललाई अध्यक्षद्वयले वेवास्ता गर्दा यसले पार्टीको समीकरण नै फेरिन सक्ने कतिपय नेकपा नेताहरूको बुझाइ रहेको छ ।
प्रधानमन्त्री दवावमा
प्रदेश ५ सरकारको राजधानीका बारेमा पार्टी एवम् प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् । आफ्नै दुई जना विश्वास पात्रहरूमध्ये एक जनालाई आफ्नो निर्णयबाट पछि हट्न भन्नुपर्ने बाध्यताले ओलीलाई अप्ठ्यारो परेको बुझिन्छ । प्रधानमन्त्रीका विश्वास पात्रहरूमा पोखरेल दाङलाई नै स्थायी राजधानी बनाउन चाहन्छन् भने पौडेले बुटवललाई स्थायी राजधानी बनाउनु पर्नेमा दवाव दिइरहेका छन् ।
लामो समयसम्म नाम र राजधानी तोक्न नसकिरहेको प्रदेश सरकारले केन्द्रलाई गुहारेपछि नेकपाका अध्यक्षद्वयले टुङ्गो लगाइदिएका थिए । अध्यक्षद्वयको सहमतीअनुसार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश राजधानी र नामबारे प्रस्ताव पास गरेको थियो । प्रदेश सरकारले पास गरेको उक्त प्रस्तावलाई गत शुक्रबार प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिसकिएकोे छ ।
