नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज ।

पटक-पटक स्थगित हुँदै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको बालुवाटार स्रोतले जानकारी दियो । यसअघि शनिबार र आइतबारका लागि तय भएको बैठक स्थगित गरिएको थियो।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार भएको छलफलमा मंगलबार सचिवालय बैठक बस्ने निर्णय भएको हो । आइतबार प्रधानमन्त्री निवासका अधिकांश कर्मचारी र प्रमका सल्लाहाकारहरुमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको थियो ।
गत सोमबारको मन्त्रिपरिषद् बैठकले पार्टीमा सल्लाह नगरी विभिन्न राजदूत नियुक्ति गरेपछि नेकपामा विवाद सृजना भएको छ । त्यसबारे सचिवालय बैठकमा छलफल गरि निष्कर्षमा पुग्ने नेकपाको तयारी छ ।
यता प्रचण्ड र माधव नेपाल समूहले ओलीले पटक-पटक पार्टी कार्यविधि मिचेर नियुक्तिहरु गर्ने गरेको भन्दै पुनः राजीनामाको माग गर्ने तयारी गरेको छ । अबका दिनहरुमा कार्यविधि मिचेमा के गर्ने ? भन्ने विषयमा ठोश निष्कर्ष निकालेर अगाडि बढ्न नेपाल समूहले दवाव दिने भएका हुन् । साथै आजको बैठकले मन्त्रिपरिषद् पुर्नगठनको बारेमा पनि निर्णय लिने तयारी छ । तत्कालकाे लागि खाली ३ मन्त्रालयमा ३ मन्त्री थस्ने ओलीकाे याेजना रहेकाे छ ।
