नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असाेज
जग्गा बेच्ने अनि अलि राम्रो घर बनाउने । त्यसपछि पनि केही बच्यो भने छोराका लागि पुरानो मोटरसाइकल किन्ने । कालिका नगरपालिका–५ पदमपुरका सुकराम महतोको यति चाहना थियो । तर, ठगहरूको पासोमा पर्दा लाखौं पर्ने जग्गाको कौडी बराबरको मूल्य हात परेपछि उनको सबै सपना टुटेको छ ।
५० लाख रुपैयाँमा जग्गा किन्न राजी भएको व्यक्तिले सुरुमा बैंकमा १० हजार रुपैयाँ राखिदियो । जग्गा नामसारी हुने दिन ३९ लाख ५० हजार रुपैयाँ र १० लाख रुपैयाँको दुईवटा चेक पनि बैंकमा जम्मा गराइदियो । जग्गा नामसारी भएपछि सुकरामले बैंकमा गएर बुझ्दा खातामा एकसुको पनि थप पैसा नआएको पत्तो पाए । सुन्दाबित्तिकै उनको आँखाबाट धरधरी आँसु चुहिए । ‘जसले जग्गा किनेको हो उसले सुरु–सुरुमा फोन पनि उठायो । केही गल्ती भएकाले बैंकमा पैसा नपुगेको बताउने गर्थ्यो । तर अहिले फोनको स्विच अफ भएको छ,’ सुकरामले भने ।
सुकरामबाट फुत्काएको जग्गा उसले अरूलाई नै बिक्री गरिसकेको पत्ता लागेको छ । सुकरामको कथा सुनेका चितवन भरतपुरको मालपोत कार्यालयका प्रमुख गुरुप्रसाद पौडेल भन्छन्, ‘यस्तो योजनाबद्ध ठगी मैले अझसम्म सुनेको थिइनँ । सोझा मान्छेलाई कसरी झुक्काएर जग्गा फुत्काउँछन् भन्ने यो घटनाले देखाएको छ ।’ सुकरामले साविक पदमपुर गाविस–७ को कित्ता नम्बर १७३१ नम्बरको ४२३ वर्गमिटर अर्थात् झन्डै २५ धुर जग्गा असोज २ गते सिन्धुपाल्चोक मांखा–७ घर भएका अगस्त तामाङलाई बेचेका हुन् ।
चितवन निकुञ्जले घेरिएको हुँदा सौराहादेखि दक्षिण राप्तीपारिको गाउँ पदमपुरलाई सरकारले स्थानान्तरण गरेर पूर्वपश्चिम महेन्द्र राजमार्गदेखि उत्तर जुटपानी बरन्डाभार जंगल आडमा लगेर नयाँ बस्ती बसाएको थियो । पुरानो पदमपुरमा हुँदा सुकराम सुकुम्बासी थिए । अर्काको घरमा हरूवा बसेका थिए । हरूवा बस्दा एक कट्ठा ऐलानी जमिन जोडेका थिए । नयाँ बस्तीमा आएपछि ऐलानी जग्गा भएकाहरूले पनि नम्बरी जग्गा पाए । ‘मैले जोडेको ऐलानी जग्गाको पनि यता नम्बरी पाइयो । उता बाले पनि ऐलानी बराबरको यता नम्बरी जग्गा पाउनुभयो । दुई भाइ थियौं । अंशबन्डा गर्दा २५ धुर मैले पाएँ,’ सुकरामले सुनाए । उनले त्यही जग्गा बेचेका हुन् । उनको पहिल्यै आफ्नो नाममा रहेको एक कट्ठा जग्गा रहेको आडमा अर्को जग्गा छ । सँधियारले त्यो जग्गा बेच्छु भन्दै थिए । २० लाख रुपैयाँ जतिमा उनले आडको जग्गा किन्न पाउने भए । अंशमा पाएको २५ धुर जग्गा बेचेर आडको जग्गा किन्ने, बचेको पैसाले घर बनाउने । त्यसपछि पनि केही बच्यो भने छोराका लागि पुरानो मोटरसाइकल किन्ने ।
यही योजना बनाएर सुकरामले जग्गा बेच्ने ग्राहक खोज्न थाले । सुकरामको कुरो गाउँकै सुनील शाही भन्नेले थाहा पाए । उनले सिन्धुपाल्चोक ठेगाना भएका अगस्तलाई ल्याए । जग्गा मिलाइदिएबापत सुनीलले एक लाख रुपैयाँ अगस्तबाट कमिसन पाउने भए । अगस्तलगायत दुई–चार जना सुकरामको घरमा धाउन थाले । ३० लाख रुपैयाँबाट सुरु भएर जग्गाको अन्तिम मूल्य ५० लाख रुपैयाँ कायम भयो ।
कोरोना कहरका कारण चितवनमा निषेधाज्ञा थियो । निषेधाज्ञा खुलेलगत्तै जग्गा पास गर्ने सहमति भयो । अगस्तको टोलीले नै सुकरामलाई पदमपुर भीमोदय मावि चोकमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयमा लगेर खाता खोल्दियो । बैनास्वरूप १० हजार रुपैयाँ राखिदिए । भदौ २९ मा बैंकमा खाता खोलेर नबिल बैंकको १० हजार रुपैयाँको चेक दिएर जम्मा गर्न लगाए । जग्गा पास गर्ने दिन पनि यसै गरेका थिए । नबिल बैंकको ३९ लाख ५० हजार रुपैयाँ र १० लाख रुपैयाँको दुईवटा चेक काटेर सिद्धार्थ बैंकको भरतपुर हाकिमचोकमा रहेको शाखा कार्यालयमा जम्मा गरे ।
सुकरामको नाममा काटेको चेक उनको खातामा जम्मा भएको भौचर हात परेपछि छोरा रोशन महतोले बाबुलाई जानकारी गराए । चेक खातामा जम्मा भइसक्यो भन्ने सूचना पाएपछि मालपोत कार्यालयमा रहेका सुकराम र श्रीमती बासमतीले कहाँ सही गर्नुपर्ने हो, कहाँ औंठा छाप लगाउनुपर्ने हो, सबै गरेर अगस्तको नाममा जग्गा नामसारी दिए । सुकराम जमानादेखि अर्काको घरमा हलो जोत्दै बसेका मान्छे । अहिले पनि केही खास काम गर्दैनन् । श्रीमती बासमती ज्याला मजदुरीको काम गर्छिन् । यसरी जुटाएको ८२ हजार रुपैयाँले इँटा किनेका थिए । इँटा किनेको १० वर्ष भए पनि जग खन्न सकेका थिएनन् । ‘आडको जग्गा २० लाखमा किन्ने कुरा भएको थियो । घर बनाउन २५र२६ लाख लाग्थ्यो होला । ठूलो हैन सानसानो बनाउने भन्ने योजना थियो । पैसा बच्यो भने छोराका लागि मोटरसाइकल किनौं भन्ने थियो । छोराको रहर थियो त्यो,’ बासमतीले भनिन् ।
असोज २ गते शुक्रबार नामसारीको सबै काम पूरा भयो । शनिबार बैंक खुल्ने कुरा भएन । आइतबार जति सक्दो चाँडो बैंक पुगेर सुकरामले पैसा आए नआएको सोधखोज गरे । नआएको सुन्दा भाउन्न भएर धन्नै लडेनन् । दुई वटा चेक भौचर काटेर जम्मा गरेकै हो । छोरा रोशनले राम्रैसँग हेरेकै हुन् । आखिर खातामा किन जम्मा भएन त पैसा रु सिद्धार्थ बैंक पदमपुर शाखाका प्रमुख सुनील खनाल भन्छन्, ‘हाम्रो हैन, अर्को बैंकको चेक थियो । उहाँले काटेको चेकको भुक्तानी गर्न पुग्ने पैसा नै चेक काट्नेको खातामा रहेनछ । अनि कसरी जम्मा हुनु ।’
अगस्तले आफ्नो खातामा पैसा नै नभए पनि सुकरामका लागि साढे ४९ लाख रुपैयाँको चेक काटेछन् । सुकराम रिसले आगो भएर अगस्तलाई फोन गरे । ‘धन्न फोन उठायो । हैन आउँछ आउँछ भन्यो । दुई–चार दिनपछि म पैसा ल्याएर तपाईंको घरभरि फाल्दिन्छु पनि भन्यो । अनि पछि त फोन स्विच अफ नै गरेर बस्यो,’ सुकरामले भने । सुकरामले यो कुरा आफ्नो भान्जी ज्वाइँ लोकेन्द्र चौधरीलाई पनि सुनाए ।
लोकेन्द्रले अगस्तलाई फोन गरे अनि रेकर्ड पनि गरे । लोकेन्द्रसँग अगस्तले राम्रैसँग कुरा गरेका छन् । फोनमा उनले ४९ लाख ५० हजार रुपैयाँ डिपोजिट हुन नसकेको स्वीकार गर्दै भोलि २ बजेसम्म पैसा डिपोजिट गर्ने भनेका छन् । तर भोलिपल्टबाट फोन स्विच अफ भयो । लोकेन्द्रले पत्ता लगाए, त्यो जग्गा अगस्तले असोज ६ गते काठमाडौं–१७ की अबिरा वज्राचार्यलाई बेचिसकेछन् । मालपोत कार्यालय प्रमुखले पनि यही कुरा बताए । ‘अबिरालाई जग्गा नदिँदासम्म फोन पनि उठाउने, पैसा दिन्छु पनि भन्ने गरेको रहेछ । ६ गते जग्गा पास गर्यो । त्यसपछि फोन स्विच अफ,’ लोकेन्द्रले भने ।
सुकरामले आफू ठगिएको भन्दै चितवन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता पनि गराएका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले यो विषयमा अनुसन्धान गर्न दुई जना समातिएको र बाँकी अनुसन्धान भइरहेको बताए । बैंकमा चेक जम्मा गराएको भौचर नै पेस गरेपछि र छोरादेखि जग्गाधनी सबैले पैसा बुझ्यौं भनेपछि जग्गा पास भएको मालपोत कार्यालयका प्रमुख गुरुप्रसाद पौडेलले बताए ।
मुद्दा परेर ठगी गरेको प्रमाणित भएमा अदालतले बिक्री खारेज गरेर सुकरामलाई जग्गा दिलाउन सक्ने उनले बताए । ‘जग्गा किनबेचमा सोझा व्यक्तिहरू अनेक तरिकाले ठगिन्छन् । मान्छे सोझो, सिधा देखेर सुकरामलाई त्यस्तो चेक दिए,’ मालपोत प्रमुख पौडेलले भने । कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले खबर लेखेका छन् ।