दाङमा राजधानीः पक्षमा मतदान गर्न नेकपाको ह्वीप, विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप

प्रदेश सरकारले ल्याएको प्रदेश पाँचको स्थायी राजधानी दाङको विपक्षीमा मतदान गर्न कांग्रेसले ह्वीप जारी गरेको छ । कांग्रेस सचेतक निर्मला क्षेत्रीले सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेको जानकारी दिइन् ।

प्रदेशसभाको आज बस्ने बैंठकमा स्थायी राजधानी र नामाकरण टुंगो लगाउने तयारी छ । तर, नेपाली कांग्रेसका साविक भेरी र राप्ती अञ्चलका सांसदहरुले पार्टीले ह्वीप जारी गरे पनि त्यसले उल्लंघन गरेर भए पनि दाङको पक्षमा मतदान गर्ने बताएका छन् । कांग्रेसका साविक लुम्बिनी अञ्चलका १३ र साविक राप्ती भेरीका ६ जना सांसदको प्रदेशसभामा प्रतिनिधित्व छ ।



विरोधकाबीच नामाकरण र राजधानी सम्बन्धी प्रस्तावमाथिको छलफल सोमबार सकिएको छ । कांग्रेस प्रदेश सांसद तथा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले पार्टीको ह्वीप जारी गरे पनि आफूहरुले दाङको पक्षमा मतदान गर्ने बताएका छन् ।

प्रदेशसभामा नेकपाले आफ्ना सांसदलाई ह्वीप जारी गरेर दाङको पक्षमा मतदान गर्न निर्देशन दिइसकेको छ । प्रदेश सभामा नेकपामा ६१ सांसद छन् नाम र राजधानी टुंगो लगाउन दुुई तिहाई मत आवश्यक पर्छ । त्यो भनेको ५८ जना सांसदले दाङको पक्षमा मतदान गर्नुपर्ने हुन्छ ।

सम्बन्धित समाचार