प्रदेश ५ को स्थायी राजधानी दाङ बहुमतका साथ पारित

प्रदेश-५ को स्थायी राजधानी देउखुरी प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । मंगलबार यससम्बन्धी मतदानका क्रममा उपस्थित ८२ जना सांसदहरुमध्ये ६९ जनाले प्रस्तावको पक्षमा र १३ जनाले प्रस्तावका विपक्षमा मतदान गरेका थिए ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्तावको पक्षमा, कांग्रेसका डिल्ली चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी, मो याकुव अन्सारीले पनि सरकारकै पक्षमा मतदान गरेका छन् ।



यस्तै कांग्रेस सासद सुरेन्द्र हमाल अनुपस्थित छन् । यसअघि कांग्रेसका रमा अर्याल र पुष्पा थरुनी र जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएपछि मतदान सुरु भएको थियो ।

संशोधन प्रस्तावमा कांग्रेसका रमा अर्याल र पुष्पा थरुनीले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलबस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनु पर्ने उल्लेख गरेका थिए ।

अब दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओगटेको राप्ती नदी किनारको मैदान भागलाई प्रदेश ५ को स्थायी राजधानी तय भएको छ।

सम्बन्धित समाचार