नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असाेज ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला गतिविधिप्रति वरिष्ठ नेता माधव नेपाल समूहले गम्भीर असहमति जनाएको छ । पार्टीका पछिल्ला हरे गतिविधिमा प्रचण्डलाई साथ दिंदै आएको नेपाल समूहले प्रचण्डले कार्यकारी पद सम्हाल्न नसकेको आरोप लगाउन थालेको छ । प्रधानमन्त्रीको विकल्प खोज्नुपर्ने आवाज उठाउँदै आएको सो समूहले अब कार्यकारी अध्यक्षकै विकल्प खोज्नुपर्ने परिस्थिति सृजना भएको भन्दै प्रचण्डलाई सजग गराएको स्रोतले बतायो ।
हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले विना तयारी बैठक बोलाइएको भन्दै अनौपचारिकतामा बैठक टुङ्ग्याउदा पनि प्रचण्डले कनै हस्तक्षेप गर्न नसकेपछि नेता नेपालले बैठकमै असन्तुष्टि पोखेका थिए । तपाईं दुई अध्यक्ष दिनका दिन बालुवाटारमा वार्ता गर्नुहुन्छ, तर बैठक भने विना तयारी भन्न मिल्छ ? मन्त्रिपरिषद् पुर्नगठनको लागि दिएको जिम्मेवारी के भयो ? पार्टी एकता टुंग्याउने कुरा के भयो ? महाधिवेशनको तयारीका कुरा कहाँ पुग्यो ? भन्दै नेपालले प्रश्नमाथि प्रश्न थुपारेपछि प्रचण्डले सहजीकरण गर्ने प्रयास गरेका थिए ।
ओलीले डा. गोविन्द केसीको अनसन तोड्ने प्रयास भैरहेको र अन्य विषयहरुको तयारी भैसकेपछि सचिवालय बोलाउने भन्दै जारी सचिवालय बैठक सम्पन्न गर्न खोजेपछि नेपालले अघिल्लो सोमबार भएका नियुक्ति प्रकरण के हो भन्दै प्रश्न उठाएको एक सचिवालय सरस्यले जानकारी दिएका थिए । जवाफमा ओलीले मुख्यसचिवविहीन अवस्था आएकोले त्यही मेसोमा केही राजदुत नियुक्ति गरेको भन्दै त्यसलाई ठूलो विषय नठान्न भन्दै अबका दिन हुने नियुक्तिका विषयमा पार्टी कमिटीमा छलफलपछि मात्र निर्णय हुने प्रतिवद्धता जनाएका थिए । ओलीको कुरामा प्रचण्डले सही थपेर थामथुम पर्न खोजेपछि नेता नेपाल प्रचण्डसँग रुष्ट बनेको बताइन्छ ।
सचिवालय बैठक सकिएपछि नेता नेपालले प्रचण्डलाई ओलीको छायाँ बनेर कार्यकारी पदको दुरुपयोग नगर्न आग्रह गरेका थिए । उनले ओलीले जे भन्छन् त्यसमै लत्रिने र कुनै अडान राख्न नसक्ने हो भने कार्यकारी अध्यक्ष भएको के अर्थ भो ? भन्दै प्रश्न गरेका थिए । तत्काल २ वर्ष कार्यकालपूरा गरेका मन्त्रीलाई हटाएर नयाँलाई नियुक्ति गर्नु भनेकोमा फेरी ३ मन्त्रीमात्र थप्ने ओलीको अडानमा किन समर्थन गर्नुभयो भन्दै नेपालले प्रचण्डसँग आक्रोश पोखेका थिए । सधैं ओलीले एकलौटी रुपमा नियुक्ति गर्ने अनि बैठकमा आत्मालोचना गरेपछि मिल्नुपर्ने ? यसरी पार्टी कसरी अगाडि बड्छ ? भनेर पनि प्रश्न गरेका थिए ।
प्रचण्डसँग नेपाल पक्षको यस्तो आशंका
प्रचण्डको पछिल्ला गतिविधिप्रति वरिष्ठ नेता झलनाथ खनाल र नेपाल समूह सशंकित देखिन्छ । हरेक एजेण्डामा ओली नै हाबी भएपछि कतै प्रचण्डले ओलीसँग गोप्य लेनदेन गरेर हरेक एजेण्डामा उनीसँग लत्रिएका त हैनन् भन्ने आशंका उनीहरुको छ । महाधिवेशनको संघारमा रहेकोले एकल अध्यक्षमा ओलीले सहयोग गर्ने शर्तमा प्रचण्ड ओलीसामु निरीहजस्तो देखिएका हुन् कि भन्ने नेपाल समूहको शंका रहेको पाइन्छ । उनीहरुले प्रचण्डसँग छलफलमै बसेर यस विषय प्रष्ट हुन चाहेको बताइन्छ ।
महाधिवेशनमा प्रचण्ड ओली एक भएमा आफूहरु कसरी अगाडि बढ्ने भन्नेमा पनि नेपाल र खनाल समूहले रणनीति तय गर्ने भएका छन् । आफुहरुको साथ लिएर उल्टै ओलीसँग वार्गेनिङ गर्ने र पूर्व एमालेमा खेलेमा पूर्व एमालेलाई एक बनाएर महाधिवेशनमा प्रचण्डको बिचल्ली बनाउनेसम्मको रणनीति बनाउनुपर्ने भन्दै नेता नेपाल र खनाललाई दोस्रो तहका नेताहरुले दवाव दिने गरेको स्रोतको दाबी छ ।
