नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

चितवनको भरतपुर महानगरपालिका आज एक दिनका लागि बन्द गरिएको छ । तत्कालीन भरतपुर नगरपालिकाका पूर्वनगर प्रमुख हिमबहादुर पियाको आज बिहान निधन भएको शोकमा आज एक दिनका लागि महानगरपालिका बन्द गरिएको प्रशासकीय अधिकृत प्रेमराज जोशीले जानकारी दिए ।
महानगरले सार्वजनिक सूचना जारी गर्दै महानगरपालिका र अन्तर्गतका सम्पूर्ण कार्यालय आज एक दिनका लागि बन्द रहने जानकारी गराएको हो । महानगरपालिका प्रमुख रेनु दाहालले स्व. पियाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छिन् ।
स्व. पिया तत्कालीन नारायणगढ गाउँ पञ्चायतका प्रधानपञ्च, २०४२ सालमा भरतपुर नगरपालिकाको जनपक्षीय नगरप्रमुख र २०५४ मा भरतपुर नगरप्रमुखका रूपमा निर्वाचित भई भरतपुरको विकासमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।
