नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असोज ।

नेपालको महान् चाड दशैँ नजिकिँदै गएको र कोरोना भाइरस पनि फैलँदै गएको हुँदा सरकारले यो वर्ष टाढैबाट आर्शिवाद लिन अनुरोध गरेको छ । बुधवार मन्त्रिपरिषद्को निर्णयहरू सार्वजनिक गर्दै परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले महामारीका समयमा वृद्ध नागरिकको स्वास्थ्य अवस्था ख्याल गर्दै टाढाबाट नै आशीर्वाद लिन र प्रत्यक्ष नभेटेर नै दशैँ मनाउन आग्रह गरेका छन् ।
उपत्यका लगायत नेपालभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो गतिमा छ भने चाडपर्व नजिक आए लगत्तै उपत्यकाबाट गाउँ फर्कनेको चाप पनि बढ्दै छ । सोही कारण विभिन्न क्रियाकलाप गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राख्न सरकारले सर्वसाधारणहरूमा आग्रह गरेको छ ।
साथै प्रवक्ता ज्ञवालीले कोरोनाको हटस्पट उपत्यका बनी रहेको भन्दै ४० लाख जनसङ्ख्या भएको ठाउँमा सावधानी नअपनाएमा कोरोना अनियन्त्रित हुन सक्ने चेतावनी समेत दिएका छन् ।
