नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ असाेज ।

२४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् ।
चिकित्सा शिक्षा सुधारसँग सम्बन्धित विभिन्न माग राख्दै अनशनरत केसीसँग वार्ता गर्न वार्ता टोली गठन गर्न चिकित्सक संघले दिएको ७२ घण्टे अल्टिमेटम बुधबार नै सकिएको थियो ।
सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने र जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दुरी कायम गरेर धर्ना दिने निर्णय गरेको थियो ।
चिकित्सक संघको आन्दोलन घोषणा भएको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको जानकारी दिएको हो । डा. केसीको स्वास्थ्यअवस्था नाजुक भैसक्दा पनि सरकारले वार्ताको पहल नगरेको भन्दै सरकारमाथि चर्को आलोचना भैरहेको थियो ।
