
अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन खुलेसँगै नेपालस्थित अमेरिकी दूताबासले डिभी चिठ्ठा भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने समेत प्रष्ट पारेको छ । दूतावासले चिठ्ठा भर्नका निम्ति फारममा माग गरेको अनुसार परिवारका सदस्य, साथी वा जान्ने बुझ्ने व्यक्रिसँग सहयोग लिन आग्रह गर्दै कुनै पनि कन्सल्टेन्टको सहयोग नलिन अनुरोध गरेको छ।
काठमाडौँस्थित अमेरिकी दूतावासले हिजो (बुधबार) एक सूचना जारी गरी नेपाली समयअनुसार राती ९:४५ बजे अक्टोबर ७, २०२० बाट आवेदन खुला भएको जानकारी दिएको थियो । हिजोबाट खुला भएको डिभी कात्तिक २५ (नोभेम्बर १०, २०२०) मा बन्द हुने छ।
कसरी भर्न सकिन्छ ?
१. काठमाडौँस्थित अमेरिकी दूतावासले दिएको जानकारीअनुसार डिभीको आवेदन भर्न चाहनेले www.dvlottery.state.gov वेवसाइटमा गएर फाराम भर्न सक्नेछन् । निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ।
२. अनुसार एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।
३. अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग भएको फोटो यस वर्ष प्रयोग गर्न पाइने छैन ।
४. डिभी भर्नका लागि फोटो खिच्दा चस्मा रगरगहना समेत लगाउनु हुँदैन ।
५. आवेदन दर्ता गर्दा आवेदकले आफ्नो इमेल ठेगाना समावेश गर्नुपर्नेछ ।
६. दूतावासका अनुसार यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नैपर्नेछ ।
७. डिभी भरेपछि त्यहाँ दिईने आफ्नो ‘कन्फर्मेसन’ नम्बर भने सुरक्षित राख्नुपर्छ । डिभीको नतिजा हेर्न यो नम्बर अनिवार्य भएका कारण पनि यसलाई सुरक्षित राख्नुपर्छ ।
८. आफ्नो ‘कन्फर्मेसन’ नम्बर कसैलाई पनि नदिन पनि दूतावासले आग्रह गरेको छ ।
९. डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका २०७८ वैशाख २५ वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर ‘ईन्ट्रि’ गर्नुपर्नेछ ।
१०. अमेरिकाले हरेक वर्ष डीभी चिठ्ठामार्फत् अमेरिका लैजाने गरेको छ । तर डिभीका लागि आवेदन भर्दैमा वा छानिँदैमा कसैले भिसा पाउने भन्ने हुँदैन ।
११. भिसाका लागि अन्तर्वार्ता दिने मौका पाइयो भने कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुराको निर्क्यौल गर्ने पनि दूतावासले जनाएको छ ।
