नेपालमा आज थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, कुल संख्या एक लाख नजिक

नेपालमा पछिल्लो २४ घण्टामा थप ४,३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या २६ हजार ६८४ रहेको छ । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ थियो ।



पछिल्लो २४ घण्टामा थप २,६७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७१ हजार ३४३ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ६६८ रहेको थियो । मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५७८ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।

 

सम्बन्धित समाचार