
प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमाललगायत सल्लाहकारहरूमा देखिएको कोरोना निको भएको छ। रिमालसहित प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापामा कोरोनाभाइरस संक्रमण भएको थियो।
थापाका अनुसार पछिल्लोपटक गरिएको तीनै जना सल्लाहकारको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ। उनीहरूका परिवारका सदस्यको पनि रिपोर्ट नेगेटिभ आएको छ। थापाले फेसबुकमार्फत् उक्त जानकारी दिँदै एक साता बित्दानबित्दै कोरोनाबाट निको भएको उल्लेख गरेका हुन्।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमालले पनि आफू निको भइसकेको बताएका छन्। आफूमा कोरोनाको लक्षण पनि नदेखिएको उनले उल्लेख गरेका छन्।
‘मेरो अनुभवले भन्छ– कोरोना केही होइन भन्नु अतिरञ्जना हो। र, कोरोना लागेपछि सिद्दियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह हो। तरिका पु-याउँदा यो महामारीको असर अति न्यून हुन्छ। लापर्बाहिमा ज्यानै जान्छ। त्यसैले यस महामारीले पहिलो कुरा, अनुशासनको माग गर्छ। दोश्रो, संक्रमितको उच्च मनोवल र तेश्रो धैर्यताको माग गर्छ,’ आफू कोरोना मुक्त भएको भन्दै उनले फेसबुकमा लेखेका छन्।
