अभिनेत्री रिचा शर्माको प्रधानमन्त्रीलाई पत्र

अभिनेत्री रिचा शर्माले पछिल्लो समय बढिरहेको बलात्कारको घटनाले आफूलाई डर लाग्न थालेको बताएकी छिन् । एक अभिनेत्री मात्र नभएर नेपाललाई माया गर्ने चेली, नारी भएकाले आफैलाई डर, लाज र मन आत्तिन थालेको बताएकी हुन् । उनले बलात्कारका जघन्य घटनाहरुको कारण भोलीको दिनमा छोरी जन्मिएला भन्ने डर लाग्न थालेको प्रधानमन्त्री केपी शर्मा ओली समक्ष निवेदन गरेकी छिन् ।

‘आदरणीय प्रधानमन्त्रीज्यू, एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ,। मलाई भोलिको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ ।’ उनले भनिन् ।



पछिल्लो समय देशभर बालिकाहरुमाथिको बलात्कारपछिको हत्याको श्रृंखला बढिरहेको छ । तर जघन्य बलात्कारका घटनाका दोषीहरुलाई सामान्य जेलमा केही दिन समय बिताएर खुलेआम हिँडेको देख्दा आफैँ भित्र लाज पलाउन थालेको बताएकी छिन् । छोरी मात्रै नभएर छोरा जन्मिएपनि मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर लागिरहेको बताएकी छिन् ।

उनले भनेकी छिन्, ‘मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ । मलाई भोलि छोरा पाउन नि डर लाग्न थालेको छ । मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ । दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ ।’

नारीलाई पुजिने र स्वयम् महिला नै राष्ट्रपति भएको देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै भएको जस्तो महसुस भएको बताएकी छिन् । नेपाल टेक्नोलोजीमा विकसित भएपनि सोचले अझै विकसित हुन नसकेको अभिनेत्री शर्माको टिप्पणी रहेको छ । प्रधानमन्त्रीलाई निवदेन गर्दै आफ्नै परिवारका छोरी नातिनीहरुको अवस्था हेर्दा उनीहरु सुरक्षित छन् भन्दै प्रश्न गरेकी छिन् ।

‘जुन देशमा नारीलाई पुजिन्छ, जुन देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयन निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलॉजीले चाहि विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौ ।’ उनले थपिन्, ‘यहाँ बालिकाहरुलाइ समम् खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौ । जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाइ भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन ? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउँदैछन । बाँकी तपाईहरु बुझकी !’

https://www.facebook.com/Richasharmah24/posts/4678936908846271

सम्बन्धित समाचार