
बहालवाला प्रधानमन्त्री केपी ओली र पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले बुढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले आरोप लगाएका छन् । पालुङ्टार नगरपालिका-६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तीन प्रधानमन्त्रीले अर्बौंको भ्रष्टाचार गरेको प्रमाण पेश गर्न आफू तयार रहेको बताए ।
‘करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ । म प्रधानमन्त्री छँदा शुरु गरेको बूढीगण्डकी जलविद्युत आयोजनाबाट केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डले नौ अर्ब रुपैयाँ कमिशन खाएर अलपत्र पारिरहेका छन्’, भट्टराईले भने, ‘मलाई थाहा छ यो कुरा । प्रमाणित गर भन्नुभयो भने म तुरुन्त गर्न सक्छु । यो मात्र होइन, अरु दस, आठ वटा आयोजनाबाट अर्बौंअर्ब कमिशन खाएर मुखमा बुझो लाएर बसेका छन् । चिट चोरेर आठ कक्षा पास गरेका र १० कक्षामा फेल भएकाहरुले कमिशनखोरसँगको साँठगाँठबाट मुलुक चलाएकाले अहिले यस्तो दुर्दशा भएको हो ।’
अर्को फरक प्रसंगमा भट्टराईले केपी शर्मा ओलीसँगको संगतले प्रचण्ड धुरुधुरु रोएर बसिरहेको आरोप लगाए । ‘प्रचण्डजी केपी ओलीको पछि लागेर त जानु भयो तर अहिले धुरुधुरु रोएर बस्नु भएको छ’, भट्टराईले भने, ‘तपाईँहरु नपत्याउनु होला, बढी कुरा गर्यो नभन्नु होला । म उहाँको निवासमा गइरहेको हुन्छु । उहाँलाई के भइरहेको छ भन्ने कुरा मलाई सबै थाहा छ, किनभने प्रचण्डजीसँग अहिले पनि मेरो अत्यन्त राम्रो सम्बन्ध छ । उहाँ मसँग बिलौना गर्नुहुन्छ । प्रचण्डजी ओलीको फेला पर्नुभयो । ओलीले पछारेको पछारै छन् ।’ बाहिरबाट देख्नेले बाबुराम पनि नेकपामा जाँदै छ है भनेर गलत टिप्पणी गर्ने गरेको उनले बताए । ‘ओली गणतन्त्र र संघीयताका विरोधी हुन् भन्ने थाहा थियो । कम्युनिष्ट होइनन् भन्ने पनि थाहा थियो । लौ डुबियो, बर्बाद भयो कमरेड भनेर प्रचण्डजी सँधै बिलौना गर्नुहुन्छ ।’
