
नेपालमा शुक्रबार थप २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै देशभर कुल संक्रमितहरूको संख्या एक लाख ६ सय ७६ पुगेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या ६ सय छ भने संक्रमणमुक्त हुनेहरूको संख्या ७३ हजार २३ पुगेको छ ।
अहिले देशभर सक्रिय संक्रमितहरूको संख्या २७ हजार ५३ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार तीमध्ये १५ हजार ८ सय ७७ जना घरमा र बाँकी ११ हजार १ सय ७६ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
गत माघ ९ गते नेपालमा पहिलो पटक चीनबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । त्यसको करिब आठ महिनापछि नेपालमा कुल संक्रमितको संख्याले एक लाख नाघेको छ । पछिल्लो केही समययता दैनिक एक हजारभन्दामाथि नयाँ संक्रमितहरु थपिदै गएका छन् । नेपालमा दैनिक थपिने संक्रमितहरूको झण्डै आधाभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा थपिने गरेका छन् ।
यकिन तथ्याङ्क खोइ ?
विगत २४ घण्टामा १३ हजार २ सय ७९ वटा नमुनाको परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । तर यसरी परीक्षण भएकाहरूमा कति कन्ट्याक्ट ट्रेसिङमा परेर परीक्षण गराएका हुन्, आफैले कोरोना परीक्षण गराएका कति हुन् र कति सक्रिय संक्रमितहरूको पुनः परीक्षण गरिएको हो भन्ने एकिन तथ्याङ्क भने देखिंदैन या देखाइएको छैन । शुक्रबार मात्रै संक्रमितहरूमध्ये १६ सय ८० जना डिस्चार्ज भएको जानकारी प्रवक्ता गौतमले दिएका छन् ।
होम आइसोलेसनमा समस्या भए…
स्वास्थ्य मन्त्रालयले कोरोनाको सामान्य लक्षण भएका र लक्षणविहीन संक्रमितहरूलाई मन्त्रालयले तोकेको मापदण्ड अनुसार होम आइसोलेसनमा बस्न अनुरोध गर्दै आएको छ । यदि संक्रमितलाई होम आइसोलेसनमा बस्न सम्भव नभए टोल फ्रि नं. ११३३ सम्पर्क गर्न र स्वास्थ्यमा कुनै समस्या देखिए अस्पताल जानसमेत आग्रह गरेको छ । कोभिड–१९ अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको मन्त्रालयले जनाएको छ ।

