शिक्षामन्त्रीका कारण भाँडियो सरकार र डा. केसीबीच हुनै लागेको सहमति

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वार्ता टोलीस्तरमा भएको सहमतिलाई अस्वीकार गरेपछि सरकार र डा. गोविन्द केसीबीच हुनै लागेको सहमति भाँडिएको छ । शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको हो ।

६बुँदे माग राखेर अनसनरत डा. केसी पक्ष र सरकारी टोलीबीच विहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । तर शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे । उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति राख्न चाहेनन् । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए । त्यही कारण हुनै लागेको सहमति भाँडिएको छ ।



स्रोतका अनुसार सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेको थियो ।

अरु सबै विषयमा दुबै टोली सहमत थिए । त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । त्यही सन्देश पाएको डा. केसीको वार्ता टोली दिनभर तयारी अवस्थामा थियो ।

सरकारी वार्ता टोलीका संयोजक मैनालीले लाइन मिनिस्टरलाई देखाएर मात्र सहमतिलाई आौपचारिकता दिन चाहेपछि सहमतिको वातावरण बिग्रिएको थियो । डा. केसीको जीवन रक्षाका लागि सरकारले बेवास्ता गरेको र अन्त्यमा वार्ता निष्कर्षविहीन भएको डा.केसीका पक्षबाट वार्ता टोलीका संयोजक डा.जीवन क्षेत्रीले जानकारी दिए।

 

सम्बन्धित समाचार