नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असाेज ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र अनसनरत डा. गोविन्द केसीसँगको वार्ता हरहालतमा सफल पार्नुपर्ने बताएका छन् । शनिवार एक ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले डा. केसीको जीवन रक्षाका लागि सम्बन्धित सबै संवेदनशील बन्नु पर्नेमा जोड दिएका हुन् ।
उनले लेखेका छन्,’डा. गोविन्द केसी पक्ष र सरकारको बीचमा भईरहेको वार्ता हर हालतमा सफल पार्नुपर्छ र डा. केसीको जीवन रक्षा गर्नुपर्छ। सम्बन्धित सबै संवेदनशील बनौँ ।’
यता शुक्रबार साँझ ९ बजेदेखि सिंहदरवारमा बसेको वार्ता निष्कर्षविहीन भएको छ । ६बुँदे माग राखेर अनसनरत डा. केसी पक्ष र सरकारी टोलीबीच विहीबार दिनभर भएको वार्तामा लगभग सहमति जुटेको थियो । तर शिक्षामन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे । उनले चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति राख्न चाहेनन् । साथै अहिले गर्न लागिएको सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने भन्ने बुँदा पनि हटाउन लगाए । त्यही कारण हुनै लागेको सहमति भाँडिएको छ ।
