नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ असोज ।

प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले अनसनरत डा गोविन्द केसीलाई मार्न खोजेको डा. केसी पक्षले आरोप लगाएको छ । केसीको पक्षबाट गठित वार्ता टोलीका संयोजक डा जीवन क्षेत्रीले ओली र पोखरेलले वार्ता गरेजस्तो पनि गर्ने र डा. केसी मरोस् भन्ने व्यवहार देखाएको आरोप लगाए । उनले हिंसाको जगबाट आएका सत्तारुढ दलका नेताहरुलाई कसैको मृत्यु स्वभाविक लाग्ने धङ्धङी अझै बाँकी रहेको टिप्प्णी गरे ।
डा केसीप्रति सरकारको लापर्वाहीले सिमा काटेकाले आफु बोल्न बाध्य भएको बताउदै उनले भने, ‘एकातिर वार्ता लम्ब्याइराख्ने र अर्कोतिर डा केसी मरोस् भन्ने आशयमन्त्री पोखरेलमा देखियो, त्यसको पछाडी प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड पनि छन् । उनीहरु नागरिक आवाज निभोस भन्ने चाहन्छन् । ‘
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा उनले अहिले मान्छे मार्ने र मान्छे बचाउनेबीचको द्धन्द्ध चर्किरहेको तर्क गरे ‘डा. केसी अहिंसात्मक माध्यम मार्फत मान्छे बचाउने आन्दोलनमा हुनुहुन्छ भने सत्तारुढ दलका नेताहरु मान्छे मारेर सत्तामा आएका हुनुहुन्छ, ओलीजीको समूह मान्छे काटेर हिंसाको जगमा आएकोहो, प्रचण्डजीहरु मुक्तिनाथ अधिकारी जस्ता १७ हजार मानिसलाई मारेर आएको समूह हो, उहाँहरुको जीनमा हिंसा अझै पनि रैछ, मान्छे मार्ने प्रवृत्ति रैछ,’ डा. क्षेत्रीले भने ।
सत्तामा आएपछि उहाँहरुमा हिंसात्मक मानसिकता कम भएको अनुमान गरिएपनि त्यस्तो नरहेको उनले टिप्पणी गरे । उनले ओली, प्रचण्ड र पोखरेलहरुले डा केसीलाई मरोस् भन्ने चाहेको हो की होइन भन्ने बारेमा सार्वजनिक बहस गर्न आह्वान पनि गरे ।
केसी पक्षको वार्ता टोलीले सरकारी वार्ता टोलीको भूमिकाप्रति भने कुनै गुनासो नरहेको र उनीहरुले आफ्नोस्तरबाट सक्दो सकारात्मक पहल गरेको ठहर गरेको छ । डा क्षेत्रीले भने, ‘वार्ता टोलीको भूमिका ठीकै छ, उहाँहरुले मात्रै गरेर हुदैन, अन्तिम निर्णय गर्ने प्रधानमन्त्री र मन्त्रीको बेइमानी देखियो ।’
उहाँहरुको बेइमानपूर्ण व्यवहारका कारण आफुहरुले वार्ता भंग गरेको र अव सरकारविरुद्ध देशव्यापी कडा आन्दोलन हुने डा क्षेत्रीले चेतावनी दिए । आफूहरुले राती ११ बजेसम्म कुर्दा पनि सरकारी पक्ष जिम्मेबार नबनेकाले वार्ता भंग गर्ने निर्णय गरेको उनले बताए ।
वार्ता भंग भएसँगै उनका समर्थकहरुले आज मध्यान्ह १२ बजेपछि माइतीघर मण्डलामा बृहत प्रदर्शनको तयारी गरेका छन् भने चिकित्सक संघले आन्दोलन घोषणा तय गर्न बैठक बोलाएको छ ।

