यस्तो छ यस वर्षको चाडपर्व लक्षित सुरक्षा योजना !

दसैं तिहार तथा चाडपर्वलाई लक्षित गरेर सुरक्षा निकायहरू शान्ति सुरक्षाको योजनामा छन् । सुरक्षा निकायहरूमा कोरोना भाइरसका कारण यो वर्ष विगतका वर्षहरूमा भन्दा थप जिम्मेवारी थपिएको छ । बढ्दो कोरोना संक्रमणका बीच सुरक्षाकर्मीलाई आफू जोगिएर चाडपर्वमा हुनसक्ने सम्भावित चोरी, डकैती, लुटपाट, कालोबजारी नियन्त्रण तथा दुर्घटना जोखिम कम गर्ने मुख्य दायित्व छ । अप्ठ्यारो परिस्थिति भए पनि विगतका वर्षहरूझैं यस वर्ष पनि सुरक्षा निकायहरूले चाडपर्व लक्षित शान्ती सुरक्षा योजना बनाइरहेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले सातैवटा प्रदेशका ७७ जिल्लाका प्रहरी कार्यलयलाई चाडपर्व विशेष सुरक्षा योजना बनाएर लागु गर्न यसअघि नै निर्देशन दिइसकेको छ । प्रहरी प्रधान कार्यलयले दिएको निर्देशनअनुसार केही प्रदेशहरूले सुरक्षा योजना बनाइसकेको र केही प्रदेशको एक–दुई दिन भित्रै बन्ने नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले नवकान्तिपुरलाई जानकारी दिए । यो वर्ष कोरोनाको महामारीको बेला आफू पनि बच्ने र नागरिकलाई पनि सचेत बनाउने गरी सुरक्षा योजना बनिरहेको उनको भनाइ छ ।



सुरक्षा योजनाअनुसार सम्भावित जोखिम क्षेत्रलाई निगरानीमा राखेर सादा पोशाकमा प्रहरी परिचालन गरिने र सुरक्षा चौकी थप गरेर शान्ति सुरक्षालाई चुस्त पारिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उपत्यकामा संयुक्त सुरक्षा

महानगरीय प्रहरी कार्यलय रानीपोखरीले पनि काठमाडौं उपत्यकामा चाडपर्वमा हुनेसक्ने अपराधका घटनालाई मध्यनजर गरेर विषेश सुरक्षा तयारी थाल्ने भएको छ । कोरोना कहरका बीचमा मानिसहरू घरमा हुने भएकाले व्यवसायिक क्षेत्रमा हुनसक्ने चोरी डकैती र अपराधका घटनालाई मध्यनजर गर्दै सुरक्षा तयारी गरिएको महानगरीय प्रहरी कार्यलय रानीपोखरीले जनाएको छ । त्यसका लागि महानगरीय प्रहरी कार्यलयले काठमाडौं उपत्यकाका तीन जिल्लाको संयुक्त सुरक्षा योजना बनाउने तयारी थालेको छ ।

ट्राफिकको सुरक्षा योजना

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्वलाई लक्षित गरेर ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । सुरक्षाकर्मीको प्रभावकारी परिचालन, शीघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्वलाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित महाशाखाले चाडपर्व विशेष सुरक्षा योजना लागुु गरेको जनाएको छ ।

ट्राफिक व्यवस्थापन विशेष सुरक्षा योजना अन्तरर्गत महाशाखाले बसपार्क क्षेत्र, कलंकी, बल्खु, कोटेश्वर, पुरानो बसपार्क र गौशालामा ८ वटा टोली सादा पोसाकमा ट्राफिक प्रहरी परिचालन गर्ने जनाएको छ । चाडपर्वमा कुनै अप्रिय घटना हुन नदिन प्रहरीले सवारी साधनको चेकजाँच तथा निगरानीमा कडाई गरिएको र बसपार्कबाट बाहिरिने गाडीहरूलाई अनिवार्य रूपमा यान्त्रिक परीक्षण सुरू गरिएको पनि महाशाखाले जनाएको छ । तोकिएको भन्दा बढी भाडा असुली गर्ने, लामो दूरीका सवारीमा दुईजना चालक नराख्ने तथा मापसे गरेर सवारी चलाएको शंका लागे तत्काल नजिकैको प्रहरी वा १०३ नम्बरमा जानकारी गराउन महाशाखाले सर्वसाधारणसँग अपिल गरेको छ ।

सम्बन्धित समाचार